१८ भाद्र २०८१, मंगलबार | Tue Sep 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुको दुर्गम गाउँ लिखुपिकेको विकासमा जोड



काठमाडौं । सोलुखुम्बुको दुर्गम गाउँ लिखुपिकेको विकासका लागि सङ्घीय सरकार, स्थानीय तह र जनसमुदायको एकीकृत पहल हुनुपर्नेमा जोड दिइएको छ ।

दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्न लिखुपिके मिलन केन्द्रले आयोजना गरेको कार्यक्रमका वक्ताले लिखुपिकेको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा लिखुपिकेमा जन्मिएका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष भूपेन्द्रबहादुर बस्नेतले लिखुपिके पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले त्यसको विकासमा एक भई लाग्नुपर्ने बताए । उनले विदेशमा जस्तो परिश्रम नेपालमै गर्नुपर्ने सुझाव दिए ।

चकित्सा क्षेत्रमा कार्यरत डा राजेन्द्र बस्नेतले लिखुपिकेको स्वास्थ्य क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यहाँ सामुदायिक अस्पतालको आवश्यकता रहेको र त्यसका लागि १२ रोपनी जग्गा खरीद गरिसकेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका अधिकारी प्रदीप बस्नेतले लिखुपिकेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । साविकको लिखुपिके गाविसका पूर्व अध्यक्ष निमाछिरिङ शेर्पाले लिखुपिके विविधताले भरीपूर्ण ठाउँ भएको बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य एवं सोलुखुम्बु इन्चार्ज शिवबहादुर बस्नेत, नेपाल ट्रेड युनियन काङ्ग्रेसका जिल्ला संयोजक कुलबहादुर खड्का, प्रदेशसभा सदस्य करुणा बस्नेत, काङ्ग्रेस नेतृ मीना कार्की, काङ्ग्रेस काठमाडौँ–सोलुखुम्बु सचिव रामचन्द्र बस्नेत, लिखुपिके मिलन केन्द्रका अध्यक्ष केदार बस्नेत लगायतले लिखुपिकेको आर्थिक, सामाजित तथा पर्यटकीय विकास गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । रासस

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार ००:००