२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजुली कटौतीले जनजीवन प्रभावित



विद्युतको भार कटौतीका कारण कैलालीको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उखरमाउलो गर्मी बढेका बेला पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको हो ।

“चर्को गर्मीमा बिजुली नहुँदा सास्ती खेप्नुपरेको छ”, धनगढीका कृष्णराज जोशीले भने, “विद्युत् प्राधिकरणले गुनासोप्रति बेवास्ता गर्दै आएको छ ।” यहाँ भारी वर्षा नहुँदा गर्मी बढ्दै गएको छ ।

विद्युत्भार कटौती हुँदा उद्योग तथा व्यापार व्यवसाय क्षेत्रसमेत प्रभावित भएको छ । “बिजुली कति बेला आउँछ केही ठेगान हुँदैन,” धनगढीस्थित कुटानी पिसानी मीलका कामदार वीरबहादुर चौधरीले भने ।

कुटानी पिसानी गर्न ल्याइएको धान र गहुँ पाँच दिनदेखि मीलमै थन्किएको उनले गुनासो गरे ।

धनगढी उपमहानगरपालिका र यस आसपासका क्षेत्रमा लामो समयदेखि विद्युत्भार कटौती हुँदै आएको छ । बिजुली आउने र जाने क्रम नरोकिँदा घरमा टेलिभिजन, रेफ्रिजिरेटर, इन्भर्टरलगायत विद्युतीय सामग्रीमा क्षति पुग्ने गरेको छ ।

विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयले भने फल्टका कारण यस्तो समस्या सिर्जना हुने गरेको जनाएको छ ।

बिजुली आउने जाने भइरहँदा समस्याको पहिचान हुन नसकिरहेको कार्यालयले जनाएको छ । गत जेठ २३ गते गएको हुरीबतासका कारण अधिकांश ठाउँमा बिजुलीका खम्बा भाँचिएका थिए । कतिपय ठाउँमा अझै मर्मत सम्भार हुन सकेको छैन । रासस

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार ००:००