असार ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पिपरा सिमरा गाँउ विकास समिति बाराका सचिव विजयकान्त झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साविक गाविसका लागि प्राप्त भएको सरकारी रकम हिनामिना गरेको भन्ने आरोपमाथि छानबिन गर्दा सचिव झाले ६३ लाख एक हजार ७७१ बराबरको अनियमिततता गरेको पाइएको आयोगले जनाएको छ ।
सरकारी स्रोतबाट प्राप्त भएको रकम बदनियत राखी हिनामिना गरेको पाइएकाले बिगो असुल गरी कैद सजायको समेत माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै भोजपुरको हतुवागढी गाँउपालिकामा कार्यरत इन्जिनियर सिमुहाङ किराँत र सबइन्जिनियर नइन्द्र पारोहाङ राईलाई घुस लिँदै गरेको अवस्थामा आज उनीहरुकै कार्यालयबाट पक्राउ गरिएको आयोगले जनाएको छ । बाटो मर्मतको बिल भुक्तानी गर्ने प्रयोजनका क्रममा सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा इन्जिनियर सिमुहाङ र २० हजार घुस मागेको अभियोगमा नइन्द्रलाई पक्राउ गरिएको र उनीहरुको अनुसनधान भइरहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया