१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगरपालिकाः अतिक्रमण गरी बनाइएका टहरा भत्काइए



जेठ १३, विदुर । नुवाकोटको विदुर नगरपालिका २ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए ।

अतिक्रमण गरी निर्माण गरिएका घरटहरा अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले पटक पटकको आग्रहलाई नटेरेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । सो कार्यालयले वनको क्षेत्र वरिपरि अतिक्रमण गरेका चार किल्लाभित्रका घरटहरा चलाउनेलाई हटाउन दश दिनको सूचना प्रकाशन गरेको थियो । दश दिन बितिसक्दा पनि अटेर गरी बसेकाले आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा अवैध टहरा डोजर लगाई भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार आज टहरा मात्र भत्काइएको छ । बाँकी पक्की घरको केही व्यक्तिका लालपुर्जा भएका र केहीका नभएकाहरुलाई उच्च अदालतले हाल भत्काउन रोक्नू भन्ने आदेश दिएकाले ती घर १५ दिनका लागि भत्काउन रोकिएको डिभिजन वन कार्यालय नुवाकोटका निमित्त अधिकृत राजकुमार यादवले बताए । यादवले पहिला नै ती अवैध टहरा र घरबारे फैसला भइसकेको तर फेरि श्रीमतीका नाममा अदालतमा मुद्दा हाली झुक्काउन खोजेको बताए ।

वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकाले अतिक्रमित कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा क विपरीतको कार्य भएकाले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना सरकारी नाममा फिर्ता हुने डिभिजन कार्यालय नुवाकोटले स्पष्ट गरेको छ । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ००:००