वैशाख ३१, घोराही । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । अहिले घोराहीका सबैजसो वडामा जलाशय बनेका छन् भने केहीमा बन्ने तयारीमा छन् ।
जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेपछि र गाउँले रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । शुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि यहाँको जनताको दैनिकीमा समेत परिर्वतन भएको र धेरैको रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको हो ।
उपमहानगर इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार उपमहानगरभित्र अहिले १५ जलाशय बनिसकेका छन् भने अरु पाँच निर्माणको तयारीमा छन् । उपमहानगरले गत वर्षसम्म यस क्षेत्रमा १२ जलाशय निर्माण गरेको थियो भने तीन जलाशय पहिले नै थिए । अघिल्लो वर्षसम्म उपमहानगरले जलाशय निर्माणका लागि मात्रै करीब पाँच करोड खर्च गरेको थियो ।
चालू आर्थिक वर्षमा पाँच जलाशय थप बनाउन लागिएको छ । नयाँ बन्ने जलाशयका लागि साढे दुई करोड खर्च गर्न लागिएको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा घोराही १ सुर्केडाँगीमा रहेको चेपखोलामा एक करोडको लागतमा निकै ठूलो र फराकिलो जलाशय बन्न लागेको छ । जहाँ प्रदेश सरकारको तर्फबाट ५० लाख र उपमहानगरले ५० लाख खर्च गर्न लागेको छ ।
यस्तै वडा नं २ को बलरामपुरमा २५ लाख, वडा नं १८ को गिठेपानीमा २५ लाख, वडा नं १३ को जङ्खोलीमा ५५ लाख र वडा नं १० को नारायणपुरमा ३६ लाखको लागतमा जलाशय निर्माण हुन लागेका हुन् ।
उपमहानगरले पानीविनाको कृषि र सुन्दर गाउँको परिकल्पना गर्न नसकिने भन्दै उपमहानगरलाई जलाशयको नगर बनाउन थालेको छ । नगरले जलाशयलाई पहिलो प्राथमिकतामा राखेका कारण यहाँका स्थानीयवासीले पनि जलाशय निर्माणको माग धेरै गर्ने गरेका छन् ।
इञ्जिनीयर श्रेष्ठका अनुसार धेरै जनताले जलाशयको माग गरिरहेका छन् । अझै पनि वडा नं ४ को रोहीनीखोला, वडा नं ५ लक्ष्मीपुरको अमारे सोता, वडा नं १३ को बाहुनडाँडा लगायतका क्षेत्रमा अझै पनि जलाशयको टड्कारो आवश्यकता रहेको र ती स्थानमा आगामी दिनमा जलाशय निर्माण गर्ने उपमहानगरले जनाएको छ । घोराही उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन विभिन्न ठाउँमा कृत्रिम जलाशय बनाउँदै आएको छ । ढिकपुरगाउँको वरिपरि तीन जलाशय बनाएको छ ।
किसानलाई सहज होस् र व्यावसायिक बनुन् भन्ने उद्देश्यले नै जलाशय निर्माणलाई उच्च प्राथमिकतामा राखेको नगरप्रमुख नरुलाल चौधरीले बताए । सिँचाइसँगै पानीको स्रोत बढाउने, पर्यटकलाई आकर्षण गर्ने, कुवा, जरुवा नसुकुन् र गाउँ हरियाली बनाउन जलाशयको अवधारणा लिएको प्रमुख चौधरीको भनाइ छ । रासस
प्रतिक्रिया