वैशाख २४, ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रको फोहरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो ।
हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार फोहर बोक्नका लागि महानगरपालिकाले आठ वटा नयाँ गाडी र बु्रमर किन्ने योजना बनाएको छ । “नगर क्षेत्रमा बढ्दो जनसङ्ख्यासंगै फोहर उत्पादन पनि बढिरहेको छ”, उनले भने, “फोहर व्यवस्थापनका लागि ती जनशक्ति र गाडीले काम काम गर्नेछ ।”
लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल लगायत क्षेत्रमा फोहरको समस्या बढी रहेको उनले बताए । त्यसबाहेक धापाखेल, सुनाकोठी, खोकना, बुङ्गमती लगायतका स्थानमा पनि फोहर बढिरहेको छ । उनले भने, “यी जनशक्ति र साधनले यहाँको फोहरको तत्कालको समस्या समाधान गर्न सघाउनेछ ।”
महानगरपालिकाले सिसडोलमा नै फोहर विसर्जन गर्दै आएको छ । सिसडोलको विकल्पमा अहिलेसम्म छुट्टै स्थानको पहिचान हुन सकेको छैन । रासस
प्रतिक्रिया