वैशाख २२, भद्रपुर । झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो पनि छ ।
पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष हुन् ।
“आर्थिक अनियमितता गर्दैनौँ र खानपानमा हामी लोभिदैनौँ”, तीन पुरुष प्रतिस्पर्धीलाई चुनावमा जितेर आएकी विर्तामोड ९ की वडाध्यक्ष पाठक भन्छिन्, “महिलालाई वडाध्यक्ष बनाउनु हुँदैन, यिनीहरुले काम गर्न सक्दैनन्, जान्दैनन् भनेर हिजो हेप्नेहरु आज हाम्रो कामको प्रगति देखेर चुपचाप छन् ।”
महिला अध्यक्ष भएको वडा तहमा सुशासन र विकास निर्माणले गति लिएको उनीहरुको दाबी छ । वडाध्यक्ष पाठकले आफ्नो वडामा कुनै पनि उपभोक्ता समिति गठन गर्नुपर्दा महिलालाई अनिवार्य कोषाध्यक्ष पद दिनुपर्ने र बैंकिङ कारोवारमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने नियम लागू गरेको बताइन् । ३३ प्रतिशत महिला नभएको उपभोक्ता समिति मान्य नहुने समेत उनको वडामा नियम छ ।
हल्दिवारी–३ की अध्यक्ष रोशनी शिवाकोटी जनताको काममा व्यस्त छिन् । उनी वडाध्यक्ष पदमा निर्वाचित हुनुअगावै गाउँमा जुवातास निषेध गराउन महिलाको जुलुस निकालेर तासका अखडामा हमला गर्ने साहसी महिलाको रुपमा चिनिएकी थिइन् । सो वडामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले भने मनोरञ्जनको रुपमा तास खेल्न पाउँछन् ।
उनको वडा कार्यालयमा आउने सेवाग्राहीप्रति कर्मचारीले रुखो व्यवहार कहिल्यै गर्दैनन् । वडामा सडक, शिक्षा, महिला सशक्तीकरणमा बजेटको ठूलो अंश छुट्याएर जनताको सेवक भएर कार्य गरिरहेको बताउने उनलाई प्रक्रिया नपु¥याई नागरिकताको सिफारिश लिन आउने पुरुषले हालै भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए ।
“म बिराउँदिन, कसैसँग डराउँदिन”, वडाध्यक्ष शिवाकोटी भन्छिन्, “गाउँमा आएको बजेट एक पैसा यताउता नगरी विकास निर्माणमा खर्च गरिनुपर्छ भनेर लागिपर्दा मविरुद्ध अख्तियारमा दुईपटक मुद्दा दर्ता गरिएपनि म जनताको निस्वार्थ सेवाबाट विचलित भएकी छैन ।”
उनले ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको बताइन् । गाउँमा हिंसापीडित महिलाको सङ्ख्या धेरै रहेको र पीडितलाई न्याय दिलाउनका निम्ति आफू घरघरै पुग्ने गरेको शिवाकोटी बताउछिन् ।
झापाका अधिकांश गाउँपालिका र नगरपालिकाले वडा तहका लागि सरदर एक करोड बजेट विनियोजन गरेका छन् । वडामा आएको बजेटको सही सदुपयोग गर्ने लक्ष्यमा अघि बढिरहेको महिला वडाध्यक्ष घुस, कमिसन र मदिरा राखिएका भोजभतेरमा संलग्न नहुने र हुन नदिने बताउछन् ।
भद्रपुर–३ की वडाध्यक्ष कमला थुलुङ कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्दा पुरुष जनप्रतिनिधिले ‘कति गनगनाएको’ भनेर हेप्ने प्रयास गरेको गुनासो सुनाउछिन् । पुरुष वडाध्यक्ष भएको वडामा भन्दा आफ्नो वडामा विकास निर्माणको लहर सिर्जना भएको उनी दाबी गर्छिन् । रासस
प्रतिक्रिया