२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृहत् विराट विकास क्षेत्रमा सुनसरी र मोरङका १८ स्थानीय तह



मोहम्मद सदरुल र मनोज दाहाल

वैशाख १६, विराटनगर । मोरङ र सुनसरी जिल्लाको केही नगरपालिका र गाउँपालिकाका आवश्यक क्षेत्रलाई समेटेर बृहत् विराट विकास क्षेत्र बनेको छ । विगतमा विराटनगर महानगरपालिका मात्र विराट क्षेत्रबाट चिन्ने गरिन्थ्यो भने अहिले यसमा सुनसरी र मोरङका १८ स्थानीय तह गाभिएका छन् ।

प्रदेश सरकारले बृहत् विराट विकास क्षेत्रका लागि ल्याएको विधेयक पनि आइतबार पारित भइसकेको छ । यो ऐनको रुपमा प्रमाणीकरण हुन बाँकी रहेको छ । विशेषतः विराटनगर महानगरपालिकाको गर्भमा हुर्किरहेको प्रदेश नं–१ को राजधानीलाई स्थायी बनाउन पनि सरकारले यो विधेयक ल्याएको हुनसक्ने अनुमान गरिएको छ । राजधानीका लागि विगतदेखि धनकुटा र सुनसरीको इटहरीलाई बनाउनुपर्ने स्थानीयवासीको माग सम्बोधन गर्न यो विधेयकले मद्दत गर्ने विश्वास लिन सकिन्छ ।

तर प्रदेशको राजधानी र नाम कहाँ, के हुने हो भन्न सकिने अवस्था पनि छैन । बृहत् विकास क्षेत्रमा मोरङका विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, बूढीगङ्गा गाउँपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, रङ्गेली नगरपालिका, केराबारी गाउँपालिका, धनपालथान गाउँपालिका र सुनसरीको बराह क्षेत्र गाउँपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी गाउँपालिका, गढी गाउँपालिका, बुर्जु गाउँपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, कोशी गाउँपालिकालाई समेटिएको छ ।

खासगरी प्रदेशको राजधानीसँग जोडिने यस्ता नगरपालिका र गाउँपालिकामा विकासको एउटा नमूना सञ्जाल निर्माण गर्न र एकबाट अर्कोमा गाभिन पनि बृहत् विराट विकास क्षेत्रले मद्दत गर्ने छ ।

बृहत् विराट विकास क्षेत्रको अवधारणा र योसँग जोडिएका नगरपालिका र गाउँपालिकामा अवस्थित धार्मिक, पर्यटकीयस्थल एवं ऐतिहासिक महत्वका स्थानको पनि विकास हुने र यसबाट आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ । क्षेत्रअन्तर्गत मोरङ जिल्लामा पर्ने विराटनगर महानगरपालिकामा दुई लाख १४ हजार ६६३, रङ्गेली नगरपालिकामा ५२,०१३, सुन्दरहरैँचा नगरपालिकामा ५० हजार ५१८, बूढीगङ्गा गाउँपालिकामा ४१ हजार ५८६, धनपालथान गाउँपालिकामा ३९ हजार ३९४, जहदा गाउँपालिकामा ४१ हजार ८१९, कटहरी गाउँपालिकामा ३९,७७५, ग्रामथान गाउँपालिकामा ३२ हजार ७१६ र केराबारी गाउँपालिकामा ३० हजार ४३१ जनताको बसोवास रहेको छ ।

यसैगरी सुनसरी जिल्लाअन्तर्गत पर्ने इटहरी उपमहानगरपालिकामा एक लाख ४० हजार ५१७, धरान उपमहानगरपालिकामा एक लाख ३७ हजार ७०५, इनरुवा नगरपालिकामा ६३ हजार ५९३, दुहवी नगरपालिकामा ५६ हजार २६९, बराह नगरपालिकामा ७७ हजार ४०८, बर्जु गाउँपालिकामा ३१ हजार १७८, गढी गाउँपालिकामा ३४ हजार ८५२, रामधुनी नगरपालिकामा ५१ हजार ७५२ र कोशी गाउँपालिकामा ४३ हजार ६२६ जनसङ्ख्या रहेको छ ।

सुनसरीका धार्मिकस्थल बराह क्षेत्र, चतराधाम, बुर्जुताल, धरानको पीण्डेश्वर, बुढासुब्बा, दन्तकाली, कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र र मोरङका धनपाल गढी, विराट राजाको दरबार, रङ्गेलीको कालीमन्दिर, सन्सारी माइस्थान, विराटनगरको कालीमन्दिर यस्ता अनेकौँ मठमन्दिर र सिमसार एवं तालतलैयामा विकास भई पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्नेछ ।

बृहत् विराट विकास क्षेत्रको एकीकृत विकासका निम्ति सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह बीचमा समन्वय गर्न र सञ्चालित एकीकृत विकास आयोजनाको ढाँचा, खाका र मापदण्ड निर्धारण गर्न र आयोजना सञ्चालन, अनुगमन र समन्वय गर्न प्रदेश सरकारले एक बृहत् विराट विकास क्षेत्र समिति पनि गठन गर्ने भएको छ । समितिमा प्रदेश सरकारले तोकेको मन्त्री अध्यक्ष रहने व्यवस्था गरेको छ ।

प्रदेशसभा सदस्य जयराम यादवले बृहत् विकास क्षेत्रको अवधारणालाई स्वागत गरेका छन् । उनले भने, “यसले पक्कै पनि यस क्षेत्रमा तीव्र विकास हुने र समृद्धि पनि प्राप्त हुने विश्वास लिएको छ ।” प्रदेशसभा सदस्य निरन राईले सुनसरी र मोरङको १८ वटा स्थानीय तहलाई जोडेर बनाइएको बृहत् विराट विकास क्षेत्रको अवधारणाले अन्य क्षेत्र उपेक्षित हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै सिरानमा धनकुटासम्म जोडेर बनाएको भए अझै राम्रो हुने बताए ।

प्रदेशसभा सदस्य शिवनारायण गनगाईंले बृहत् विराट विकास क्षेत्रमा सिरानतर्फ ६५ किमी र पूर्व तथा पश्चिममा ४५ किमी क्षेत्रलाई समेटेर बनाएको भए अझै राम्रो हुन्थ्यो भन्दै तथापि यो अवधारणा राम्रो रहेको यसबाट विकासले गति लिनसक्ने बताए ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलका अनुसार प्रदेश सरकारले जुन उत्साह र सोचबाट यो अवधारणा ल्याएको छ सोही अनुसार विकासमा केन्द्रित भएर काम गरेमा यसले मूर्तरुप लिन सक्छ । उनले अब जहदाको वडा नं ३ मा निर्माणाधीन चक्रपथ सम्पन्न हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ००:००