वैशाख ८, गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ ।
पाँच छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।
राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए ।
पाँच छ दिनअघि पुनः एक्कासि बिरामी भएपछि उहाँलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ । रासस
प्रतिक्रिया