तीर्थ भट्टराई
वैशाख ७, काठमाडौं । बुद्घनगर सरसफाइ अभियान आजदेखि चार वर्ष पूरा गरी पाँच वर्ष लागेको छ भने बुद्घनगर क्षेत्रका सडक हिजोआज निकै सफा देखिन्छन् ।
अभियानअन्तर्गत आज बुद्घनगर गणेशस्थान आसपास २०९ औँ हप्ताको सफाइ गरी आजको कार्यक्रम समापन गरियो । बुद्घनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते शुरु गरिएको सफाइ अभियानले चार वर्ष अनबरत रुपमा सफाइ गरेपछि बुद्घनगर क्षेत्रमा जथाभावी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन थालेको स्थानीयवासी बताउँछन् ।
यस सफाइ अभियानको शुरुदेखिकै एक प्रमुख अभियानकर्मी पूर्व सांसद मोहन राई अभियानमा आफू २०९ मध्ये २०७ हप्तामा अनवरत संलग्न रहेको बताउछन् । “एक दुई हप्ता मात्र आफू यहाँ नहुँदा अभियानको कार्यक्रम छुट्यो, त्यसबाहेक कुनै हप्ता छुटाएको छैन, एकोहोरो भएर लागिरहेकै छु । घाम पानी, जाडो गर्मी नभनी हामी खटेका छौँ, कुनै हप्तामा त दुई जनाले मात्र पनि सञ्चालन ग¥यौँ”, उनी भन्छन् ।
अभियानबाट टोलमा के सुधार आएको छ त रु भनी प्रश्न गर्दा राई भन्छन्, “हामीले गरेको कामबाट धेरै परिवर्तन आएको छ । मानिसमा जनचेतना बढेको छ । सडक सफा हुनुका साथै जथाभावी फोहर फाल्ने प्रवृत्तिमा धेरै कमी आएको छ । यहाँ जथाभावी फोहर फालिने र फोहर कुहिएर गनाउने अवस्था छैन ।”
पत्नी, दुई छोरी तथा परिवारका अन्य सदस्यसहित सफाइमा खट्नु भएका राई भन्छन् “मुख्य कुरा त जनचेतना नै हो, हामीबाट सिक्दै अहिले शङ्खमूल, त्रिपुरेश्वर, भोटेबहाल, बबरमहल, बिजुलीबजार, आलोकनगर, शान्तिनगरतिर पनि सफाइ अभियान थालिनु हाम्रा लागि खुशीको कुरा हो ।”
अभियान अन्तर्गत सफाइ क्रममा बुद्घनगर क्षेत्रमा ७०० डस्टबिनको रुपमा राखिएको र सबैतिर गरी दुई हजार बाल्टिन राखिएको पनि उनले जानकारी दिए । यसपटक भने सफाइ मात्र नभएर नयाँ कामको थालनी पनि गरिएको बताउँदै पूर्वसांसद राईले यस वर्षदेखि पाँच जना विपन्न तथा जेहेन्दार बालबालिका छनोट गरी एसइई सम्म पढ्न छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । यो सङ्ख्यालाई अर्को वर्ष १० पु¥याइने पनि उनले बताए ।
सफाइ अभियानकै शुभेच्छुक के सहयोग गर्न सकिन्छ भनेर सहयोग गर्न तयार हुनुहुन्छ र जापानमा रहेका एक शुभेच्छुक पञ्च मगरले यसका लागि २५ हजार प्रदान गरिसक्नुभएको पनि उनले जानकारी दिए । बुद्घनगरकै इन्नोभेटिभ इङ्ग्लिश स्कूलको सहकार्यमा ती बालबालिकालाई पढाइने पनि उनले बताए ।
भोजपुरको खावामा जन्मिएका राई यसअघि नेपाली कांग्रेसबाट संविधानसभामा समानुपातिकबाट सांसद थिए भने उनी पूर्व ताइक्वान दो खेलाडी तथा राष्ट्रिय खेलकूद परिषद्का पूर्व कोषाध्यक्ष पनि हुन् ।
शुरुदेखि नै सफाइ अभियानका संयोजक तथा थर्ड आई युथ क्लबका पूर्वअध्यक्ष सुवास राई अभियानले यस टोलको सफाइमा ठूलो सुधार आएको बताउछन् । “पहिले सरसफाइ गर्दा दुई गाडासम्म फोहर निक्लन्थ्यो अहिले भने दुई बोरा पनि निस्कन गाह्रो छ । हामीले गरेको काम खास गरी जनजागरणका लागि मात्र हो, अब त घरबाट बाहिर आउने फोहर कम भइसकेको छ”, उनी भन्छन्छन् ।
यस अभियानमा धेरै स्थानीयवासी सहभागी भएको र खासगरी पूर्वसांसद राईका साथै स्थानीय समाजसेवी शम्भू तामाङ, शतिश तण्डुकार, पशुपति गमाल, मणिरत्न चित्रकार, थमन थापा, ज्ञानेन्द्रप्रसाद घिमिरे, कल्याण पाण्डे आदि सक्रियतासाथ अभियानमा लागेको पनि उनले जानकारी दिए ।
अभियानले गरेको काम कत्तिको प्रभावकारी छ भनी प्रश्न गर्दा बुद्घनगरमा पसल सञ्चालन गर्ने भगवती घिमिरे भन्छिन्, “सडकमा फोहर धेरै कम भएको छ, तर पोलमा राखिएका बाल्टिनबाट पनि फोहर सङ्कलन राम्रै भएता पनि बाल्टिनमा घर घरको फोहर थुपारी दिँदा चाँडै भरिने र व्यवस्थित नभएकाले ती बाल्टिन भने सडक किनाराका पसलवालाले नै हटाएका छन् । उनका अनुसार जथाभावी फोहर फाल्न भने धेरै कम भएको छ ।
केही वर्ष अघिसम्म हिलो र धुलोले व्याप्त यस क्षेत्रमा सरसफाइ अभियानका साथै धेरैजसो सडक कालोपत्रे पनि भइसकेकाले बुद्धनगर हिजोआज निकै सफा देखिन्छ । रासस
प्रतिक्रिया