रवीन्द्र काफ्ले
वैशाख ४, फिदिम । वृद्धभत्ता रोकिएपछि ७१ वर्षीया मनमाया नेम्वाङ वडा कार्यालय पुगिन् । वडाध्यक्ष मनप्रसाद चेम्जोङ पत्रिका पढेर बसिरहेका थिए । उनले सोधिन्– “नानी, यो खोर नबनाएसम्म भत्ता नआउने नै हो ?” वडाध्यक्ष चेम्जोङले मुस्कुराउँदै भने– “तुम्मा (ठूलीआमा) सबैले भनेर रोक्नु परेको हो । कानूनतः रोक्न मिल्दैन । भाइहरुलाई लगाएर भोलि नै खोर बनाइदिनुस्, पर्सि नै भत्ता आउँछ ।”
साठी वर्षीया मनमती नेम्वाङको पनि एकल महिला भत्ता आइसकेको छ तर, वडा कार्यालयबाट निकासाको सिफारिश भएको छैन । किनकि मनमतीले पनि कुखुरा पाल्ने अर्धबन्देज खोर बनाएकी छैनन् । वडाध्यक्षले खोर नबनाई भत्ताको सिफारिश दिन नसक्ने बताएपछि मनमती अलि–अलि लजाएर मुस्कुराउँदै वडा कार्यालयबाट बाहिरिइन् । “हौ, अब बनाउनै पर्ने भएछ,” मनमतीले मनमायासहित कार्यालयबाट बाहिरिँदै गरेका छिमेकीहरुसँग भनिन् ।
मनमायाले थपिन्– “भोलि नै खेताला लगाउनु प¥यो । बाँस आफैँसँग छ । एकछिन फुटालेर बनाइदेओ भन्छु ।” छोराले अर्धबन्देज खोर बनाए पनि छुट्टै बसेर छुट्टै कुखुरापालन गरिरहेका छन् । मनमाया दम्पतीले भने यस्तो खोर बनाएका छैनन् । मनमायालाई लागेको रहेछ छोरोले बनाएकैले बाबुआमालाई पनि हुन्छ ।
यो घटना हो, पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दिनको । अकबरे खुर्सानी उत्पादन गरेर देशमै चर्चा कमाएको चिलिङ्दिनले पुनः चर्चा कमाउन लागेको छ । त्यसैले मनमाया र मनमतीको भत्ता रोकिएको छ ।
खोर नबनाए सुविधा रोक्का
चिलिङ्दिनलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने तयारी थालिएको छ । लिम्बू समुदायको सघन बसोबास रहेको यो वडालाई आगामी वैशाखसम्ममा पूर्ण सरसफाइ उन्मुख घोषणा गरिँदैछ । वडालाई पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका सबै पक्षको सहमति र तदारुकता आवश्यक हुन्छ । यसैले पूर्ण सरसफाइ उन्मुख बनाउन आवश्यक मापदण्ड पूरा नगर्ने घरपरिवारको सरकारी कामकाज रोकिएको छ । यो यहाँका जनप्रतिनिधि मात्रै नभई सबै दल, सङ्घसंस्था र स्थानीय अगुवाहरुको निर्णय हो ।
पूर्वशिक्षक कविन्द्रप्रसाद लावती वडा सदस्य हुन् तर, लावतीसँग वडाको अध्यावधिक तथ्याङ्क छ । पूर्ण सरसफाइ उन्मुख वडा निर्माणका लागि बस्तुभाउ तथा पशुपक्षीको उचित व्यवस्थापन, पानी शुद्धीकरण, साबुन पानीको प्रयोग र शौचालयको प्रयोग यहाँका मुख्य चुनौती हुन् । लावतीसँग कति घरमा बस्तुभाउ तथा पशुपक्षीको उचित व्यवस्थापन भएको छ भन्नेदेखि शौचालय निर्माण र प्रयोगमा हेलचेक्र्याइँ गर्ने परिवारको समेत तथ्याङ्क छ ।
वडाका ७९६ मध्ये ६०९ घरमा पानी छान्ने भाँडो प्रयोगमा आइसकेको छ । करीब २० प्रतिशत स्थानीयवासीले बस्तुभाउ तथा पशुपक्षीको उचित व्यवस्थापन गर्न बाँकी रहेको उनी सुनाउँछन् । “तीन परिवारको आफ्नै शौचालय थिएन । अरुको घरमा गएर शौच गर्थे,” लावतीले भने– “जब वडाध्यक्षज्यू र म गएर शौचालय निर्माणका लागि झम्पल हान्न थाल्यौँ, उनीहरु आफैँ बनाउन तयार भए ।”
सबैको सक्रियता
चिलिङ्दिनलाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउन वडा कार्यालयसहित स्थानीय अगुवा सक्रिय छन् । यस कार्यमा वडा कार्यालयलाई प्राविधिक रुपमा सुआहारा २ कार्यक्रमले सघाउ पु¥याइआएको छ । यस वडाका सबै घरमा ‘स्वच्छता, आनीबानी परिवर्तन एवं स्वस्थ घरको प्रवर्धन तथा अनुगमन’ शीर्षकको रङ्गीन पोष्टर टाँसिएको छ । त्यहाँ पाँच शीर्षकमा विभिन्न सूचकहरु राखिएका छन् । सुआहारा कार्यक्रमका कर्मचारीहरुले घरको अवस्थाका आधारमा १, २ वा ३ नम्बर दिने गरेका छन् ।
यहाँका रामप्रसाद तिरुवा विश्वकर्माको घरमा टाँसिएको पोष्टरमा २२ सूचकमध्ये २० वटामा ३ ३ अङ्क दिइएको छ । बाँकी २ वटामा २ २ अङ्क । अनुगमनमा आउने सुआहारा कार्यक्रमकी सामाजिक परिचालक सुन्दरी चेम्जोङले भनिन्, “जुठ्यान, चाङ, भान्सा कोठामा ¥याकको सुविधा भएको र बस्तुभाउ तथा पशुपक्षीको उचित व्यवस्थापन गरेको शीर्षकका सूचकमा काम गरे पनि त्यो पर्याप्त नभएकाले २ अङ्क मात्रै दिइएको हो ।” रामप्रसादकी श्रीमती मीनाले भनिन्, “अहिले त सबै सुधार गरिसकेकी छु । अब सबैमा तीन अङ्क आउला ।”
वडा सदस्य लावतीको तथ्याङ्क र स्थानीयवासीको जागरुकता देख्दा चिलिङ्दिन यही महीना पूर्ण सरसफाइ उन्मुख वडा बन्ने सङ्केत मिल्छ । छाडा छोडिने स्थानीय प्रजातिका कुखुराका लागि भर्खर मात्रै अर्धबन्देज खोर बनाएका मच्चिन्द्र चेम्जोङ प्रायः सबै घरपरिवारले पानी छान्ने भाँडो प्रयोगमा ल्याएको तथा कुखुरापालनका लागि अर्धबन्देज खोर बनाएको बताउँछन् । लिम्बू समुदायका प्रत्येक घरमा स्थानीय प्रजातिका कुखुरा पाल्ने चलन भएकाले सबैजसो घरमा कुखुरा पालिएका छन् ।
वडालाई पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका नौ वटा टोलमा टोलस्तरीय स्वच्छता तथा सरसफाइ समिति गठन गरिएको छ । समितिमा टोलका अगुवाहरुले नेतृत्व गरेका छन् । समिति साविकका वडास्तरमा बनेका छन् । वडा कार्यालयमा रहेको विपन्नताको सूचकका आधारमा यहाँका ५० परिवारलाई फिल्टर खरिदमा सहयोग गरिएको छ । बाँकी परिवारलाई फिल्टर खरिद गर्न उत्प्रेरणा प्रदान गर्ने गरिएको छ । अधिकाँशले आनीबानीमा सुधार ल्याएको सामाजिक परिचालक सुन्दरी चेम्जोङको अनुभव छ ।
वडालाई पूर्ण सरसफाइ उन्मुख बनाउन सक्रिय सुआहारा कार्यक्रमका खानेपानी तथा सरसफाइ अधिकृत भरत रिजाल जनप्रतिनिधि, स्थानीय अगुवा र स्थानीयवासीको सक्रियताकै आधारमा वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने बताउँछन् । “हामीले सहयोगीको भूमिका मात्रै खेल्ने हो, काम त वडा कार्यालय, टोलस्तरीय स्वच्छता समितिले नै गर्छन्,” रिजालले भने । यस अघिनै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि उक्त घोषणा ‘दिसा पिसाब लुकाउने ठाउँ निर्माण’मै सीमित भएको रिजालको अनुभव छ । “शौचालयमा दिसा पिसाब गर्नुपर्छ भन्ने भन्दा बढी प्रगति हुन सकेन । सरसफाइको स्थितिमा सुधार आएन,” रिजालले भने, “यस अभियानमा चाहीँ पोषण, शारीरिक सरसफाइ, भान्सादेखि करेसाबारीसम्मको स्वच्छताका लागि आनीबानी सुधारको प्रयत्न थालेका छौँ ।”
दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्य
सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा सबै परिवारमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको सुविधा उपलब्ध भएको स्थिति निर्माण गर्ने लक्ष्य लिएको छ । “यो लक्ष्य पूरा भए झाडापखाला र निमोनियाको सङ्क्रमण ५० प्रतिशतले कम हुने तथ्याङ्कले देखाउँछ,” रिजालले भने । सरसफाइकै कारण नवजात शिशुको मृत्युदर ४४ प्रतिशतले घट्नुका साथै ५० प्रतिशत कुपोषण हट्ने सरकारी तथ्याङ्क छ ।
चिलिङ्दिनसहित मिक्लाजुङ गाउँपालिका वडा नं २ सराङडाँडालाई समेत पूर्ण सरसफाइ उन्मुख वडा बनाउन सुआहारा कार्यक्रमले सहयोग गरिरहेको जिल्ला कार्यक्रम संयोजक भरत बताउछन् । उक्त कार्यको अगुवाइ वडा कार्यालयले गरिरहेको छ । यस कार्यका लागि स्थानीय तहहरुले बजेट नै छुट्टयाएका छन् । फाल्गुनन्द गाउँपालिका ४, चिलिङ्दिनका वडाध्यक्ष चेम्जोङले भने, “सबैको सक्रियता र प्रतिवद्धता उत्तिकै रह्यो भने पूर्ण सरसफाइ उन्मुख वडा निर्माण गर्न अब कठिन छैन ।” उनी आफैँले अरुको शौचालय प्रयोग गर्ने तीन परिवारका लागि शौचालय बनाउन झम्पल हान्न थालेका थिए । “सबै सचेत समुदाय लागेपछि त्यत्ति गा¥हो नहोला,” चेम्जोङले भने । रासस
प्रतिक्रिया