२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ



चैत २८, काठमाडौं । नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् ।

सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा नयाँ वर्षको शुरुआतसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने छ । प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ ।

काठमाडौं शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलले बताए । “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उनले भने ।

स्मार्ट पार्किङ सञ्चालनमा ल्याइने स्थानमा एक पटकमा करीब ८०० दुईपाङ्ग्रे सवारीसाधन र ४० चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिनेछ । सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० लाग्नेछ । त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा ५० शुल्क निर्धारण गरिएको छ । पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन् ।

सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान, समय र पार्किङ शुल्कजस्ता विवरण आवश्यकताअनुरुप हेर्न सकिनेछ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार ००:००