१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिमा आधुनिक औजारको माग बढ्दो



खेमराज गौतम

चैत १४, गलकोट । बागलुङ नगरपालिका ३ का अगुवा किसान नारायणप्रसाद शर्माले मिनी टेलर (हलो)ले खेत जोत्न थालेको दश वर्ष भयो ।

दश वर्ष अगाडिबाट हलो लगायत कृषि औजार बिक्री गर्दै आएका पङ्गाली मेशिनरीमा आएको पहिलो मिनी टेलर हलो किनेर जोतेको स्मरण गर्दै शर्माले भने, “शुरुमा प्राविधिक ज्ञान नभएका कारण समस्या भए पनि अहिले म जस्ता कृषकका लागि आधुनिक मिनी टेलर हलो वरदान साबित भएको छ ।”

हाल नेपालका पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ । कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको माग बढेको हो ।

पछिल्लो समयमा किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकाई छोडाउने क्रन थ्रेसर लगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोवार समेत बढेको छ । कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनी टेलर हलो अत्यधिक रुचाएका छन् । थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो भएका कारण गोरुको विकल्पका रुपमा मिनी टेलर हालो बनेको हो ।

धेरै खेतीपाती गर्दा थोरै समय र कम खर्चमा जोत्न सकिने आधुनिक मिनी टेलर हलोले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्ने कृषकहरु बताउँछन् । बागलुङमा विभिन्न क्षमता र गुणस्तरका आधारमा ३० हजार देखि ७० हजारसम्मका सो हलोको कारोवार हुँदै आएका पङ्गाली मेशिनरीका सञ्चालक कलानिधि पौडेलले बताए ।

बागलुङ जिल्लामा हाल तीन वटा मेशिनरी सप्लायर्सले मिनी टेलर हलो लगायत अन्य कृषि औजारको व्यापार गर्दै आएका छन् । गोरुको माध्यमले खेतबारी जोत्दा समय तथा स्रोत बढी खर्च हुने भएकाले ८ वर्षदेखि मिनी टेलर हलोले खेतबारी जोत्दै आएको बडिगाड गाउँपालिकाका किसान मेयर सिङ्ग पाइजाले बताए । “मैले गोरुले जोत्दाभन्दा मिनी टेलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत कम लागत लागेको अनुमान गरेको छु” पाइजाले भने ।

जिल्लामा बर्सेनी हलोको खपत सङ्ख्या क्रमशः बढ्दै गएको मेशिनरी सप्लायर्सहरुले बताएका छन् । यो वर्ष पर्वत, म्याग्दी र बागलुङमा गरी झण्डै एक हजार मिनी टेलर हलोको व्यापार भइसकेको सञ्चालक पौडेलले जानकारी दिए ।

उनले चीनको विभिन्न शहरबाट सिधै नेपाल भित्र्याउँदा किसानलाई सस्तो मूल्यमा मिनी टेलर हलो लगायतका औजार प्रदान गर्न सकेको बताए ।

स्थानीय सरकार आइसकेपछि किसानलाई सहुलियतका रुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदानमार्फत समेत मिनी टेलर हलो वितरण हुन थालेका छन् । यस कारण पनि हलोको कारोवारमा वृद्धि भएको छ । अहिले जिल्लाका प्रत्येक किसानको घर–घरमा मिनी टेलर छ भने परम्परागत रुपमा जोतिने गोरु कही कतै मात्र देख्न पाइने गरेको छ ।

मेशिनरी औजारको प्राविधिक ज्ञान सीप तथा मर्मतसम्भार हलो बिक्रेताले नै प्रदान गर्ने भएपछि किसानलाई सहज भएको छ । गोरुलाई जस्तो वर्षभरि पालेर राख्नु नपर्ने हुँदा मिनी टेलर हलोले जोत्दै आएको कृषक गङ्गा थापाले बताए । रासस

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार ००:००