चैत १४, काठमाडौं । नेपाल प्रहरी र चन्द्रागिरि नगरपालिकाको संयुक्त आयोजनामा चन्द्रागिरिमा ‘घरदैलो’ कार्यक्रम शुरु गरिएको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ जिल्ला समिति काठमाडौंको निर्णयानुसार समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्नका लागि महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिकासँग मिलेर घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले साझा घरमा स्टिकर टाँसेर उद्घाटन गरे । उनले शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि सो अभियान प्रभावकारी हुने बताए । “समाजमा घट्ने घटनालाई सहयोग पुग्ने उद्देश्यले नगरपालिकाले विभिन्न सामग्री खरीद गरिसकेकोछ छ, चाँडै प्रहरीलाई हस्तान्तरण गछौँ” उनले भने ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अपराधमुक्त समाज निर्माण गर्न स्थानीय प्रहरीको नम्बर घरघरमा टाँस्ने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको बताए । “समाजमा घट्ने घटनाका बारेमा प्रहरीलाई तत्काल फोन गर्न कार्यक्रमबाट सहयोग पुग्नेछ” उनले भने ।
चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी हरिभक्त महर्जनले शान्तिसुरक्षाका लागि सिसी क्यामरा जडान, साइरन जडान लगायत काम नगरपालिकाले गरिरहेको बताए ।
चन्द्रागिरि नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले अपराधमुक्त समाज निर्माणका लागि नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया