चैत १०, ललितपुर । ‘हराभरा महानगर, प्राङ्गारिक तरकारी बजार’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले नेपालमा पहिलो सिड एटीएम भित्र्याएको छ ।
महानगरपालिकाले दैनिक आउने एक हजारदेखि एक हजार ५०० नागरिकलाई लक्ष्य गरी उनीहरुलाई गुणस्तरीय र शुलभ मूल्यका साथ विभिन्न बीउबिजन उपलब्ध गराउने उद्देश्यका साथ सो प्रविधि भित्राएको हो ।
हाल संसारभर चलेको शहरीखेती कार्यक्रम अन्तर्गत सञ्चालित उक्त कार्यक्रम नेपालको पहिलो भएको महानगरका कृषि शाखा प्रमुख केशव अधिकारीले जानकारी दिए । “भारतको तामिलनाडुबाट पाँच लाख ६० हजारमा महानगरपालिकाले यो प्रविधि भित्राएको हो” उनले भने, “नेपालमा यो प्रविधिको मूल्य आठदेखि साढे आठ लाख पर्न जान्छ ।”
शहरका नागरिकले विशेष गरी कौशी खेती र करेसा खेतीमा जोड दिन्छन् तर ललितपुरका जनताले केही हदसम्म खेतबारीमा विशेष गरी विभिन्न तरकारी उत्पादन गर्ने भएकाले उनीहरुलाई उत्पादन र बजारीकरणमा सहज होस भन्दै उक्त प्रविधि भित्राएको अधिकारीले बताए ।
सो प्रविधिमा भण्डारण गरिने बीउबिजन उपलब्ध गराउने सम्झौता महानगरपालिकाले लगनखेलको सङ्कलन एग्रोसँग सार्वजनिक, निजी तथा साझेदारी संस्थासँग एकैसाथ गरेको महानगरका प्राविधिक विजय खड्काले जानकारी दिए ।
“सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्दा हरेक नागरिकले २०, ५० र एक सयको नोट छिराउनुपर्ने हुन्छ” खड्काले भने, “प्रविधिमार्फत सेवाबाट सङ्कलन भएको रकमको दुई प्रतिशत महानगरपालिकाले आफ्नै राजस्व शाखामा जम्मा गर्ने सहमति भएको छ ।”
यसैगरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ देखि यस प्रविधिलाई ध्यानमा राखी महानगरका २९ वटै वडामा सेवा विस्तार गर्ने योजना अघि बढाएको बताइएको छ । रासस
प्रतिक्रिया