चैत ३, काठमाडौं । दिगो विकास लक्ष्य तथा सुशासन प्रवर्द्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ ।
त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिइन् ।
अनुगमनका क्रममा प्रदेश सरकारका दिगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने मन्त्रालय एवं विभागका अधिकारीको सहभागिता रहने जनाइएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन समापन भएसँगै प्रदेश अनुगमनको कार्यक्रम तय गरिने उनले बताए । बैठकमा सांसद दीनानाथ शर्मा, सरिता प्रसाइँ, रमेश रायमाझी लगायतले समितिको कार्यक्षेत्र तोकिएको विषयमा अनुगमन गरी सुधारका लागि सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका थिए ।
समितिले शुक्रबार सङ्घीय संसद् सचिवालयभित्रको पुराना सामान लगायत चमेना गृहको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको थियो । दिगो विकास र सुशासनका विषयमा अनुगमन जारी रहने जनाइएको छ । रासस
प्रतिक्रिया