१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजार नपाए पछि रोल्पाका तरकारी किसान मारमा



फागुन २६, रोल्पा । व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् ।

जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् ।

बन्दा, काउली, ब्रोकाउली जस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा परिने चिन्ताले उनीहरुलाई सताएको छ । अघिल्लो वर्ष तरकारीबाट पाँच लाख आम्दानी गरेको थिए, यसवर्ष त लगानी पनि नउठ्ने भयो कृषक पुष्पा घर्तीको दुखेसो थियो । अघिल्ला वर्ष बजारमा यस्तो समस्या देखिएको थिएन उनले भनिन् ।

अघिल्लो वर्ष तरकारीबाट राम्रो आमदानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनकी कल्पना पुनले यसवर्ष भने डोकोमा तरकारी बोकेर गाउँ गाउँ डुलाउँदा पनि बिक्री नभएको गुनासो गरिन् । यसवर्ष त लगानी पनि नउठ्ने भयो उनले भनिन् ।

रुण्टीगढी गाउँपालिका–७ का किसानले प्रतिकिलो तीन रुपैयाँका दरले पनि तरकारी बिक्री नभएपछि गाईभैँसीलाई खुवाउन बाध्य भएको किसान सुगम मगरले बताए । स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारीखेती अङ्गालेका युवा अहिले निराश भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेका छन् मगरले भने ।

विचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय लक्षीराम थापाको भनाइ थियो । भारतबाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका उनले भने ।

यता जिल्ला सदरमुकाममा भने तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याज लगायत तरकारीको बजार मूल्य प्रतिकिलो ३० देखि ७० सम्म छ ।

बजारको राम्रो सञ्जाल नहुँदा जिल्लाभित्रै कतै हाहाकार र कतै फालाफलको अवस्था आएको छ । सदरमुकाम लिवाङ र जिल्लाको दोस्रो ठूलो बजार केन्द्र सुलिचौरका बासिन्दाले भने जिल्ला बाहिरबाट आउने तकारी उपभोग गर्ने गर्दछन् ।

यस क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने किसानको आकर्षण बढ्दै गए पनि यसवर्षको बजार मूल्यका कारण धेरै किसान निराश भएका उल्लेख गर्दै स्थानीय रुद्र मगरले भने, “लाखौंको तरकारी खेर जाँदासमेत स्थानीय सरकार लगायत कुनै निकायले सहयोग गरेनन् ।” रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार ००:००