२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाका ४ स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने



सुशीला रेग्मी

फागुन २३, बेझाड । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रम अन्तरगत प्रदेश नं ५ का ५२ स्थान अन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछ ।

नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल र डा पुरनमान बज्राचार्यका क्षेत्रमा सिफारिस गरिएको छ । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ र तानसेन नगरपालिका–१४ को अर्गलीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रम सञ्चालन गर्न एक क्षेत्रमा ५० लाख गरी चार स्थानमा दुई करोड बराबरको रकम विनियोजन गरिएको छ । चार स्थानमा सञ्चालन हुने कार्यक्रममध्ये प्रदेशसभा सदस्य घर्तीमगरको क्षेत्रमा झ्याङ्लाफाँट स्मार्ट कृषिगाउँ कार्यक्रम केही दिनअघि मात्रै विधिवतरूपमा उद्घाटन गरेर सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।

यहाँ करीब २५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने यस कार्यक्रममा १०८ घरपरिवारका कृषक आबद्ध छन् । धान, तरकारी, मकै लगायतका बालीलाई पहिलो प्राथमिकतमा राखेर काम गर्ने बताइएको छ ।

त्यस्तै प्रदेशसभा सदस्य आचार्यको क्षेत्रमा हुँगी स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालनको तयारीमा छ । यस कार्यक्रममार्फत करीब ३६० हेक्टर क्षेत्रफलमा धान र तरकारी खेती गर्ने तयारी रहेको कार्यक्रम संयोजक केदारप्रसाद बस्याल बताउछन् । उनका अनुसार यस कार्यक्रमबाट यहाँका करीब १०० बढी कृषक लाभान्वित हुनेछन् ।

अर्का प्रदेशसभा सदस्य खनालको क्षेत्र हेक्लाङमा ४७६ रोपनी क्षेत्रफलमा बराहदेवी स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछ । सो कार्यक्रममा यहाँका ७६ कृषकमध्ये ६७ ले प्रतिबद्धता जनाइसकेको कार्यक्रम संयोजक नोलराज भण्डारीले जानकारी दिए । धान, मकै, तरकारी खेतीलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गर्ने तयारीमा लागेको संयोजक भण्डारीले बताए ।

प्रदेशसभा सदस्य डा बज्राचार्यको क्षेत्र अर्गलीमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिएको छ । यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन भइरहेकाले स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन गर्ने कि नगर्नेमा कृषक अलमलमा छन् ।

कृषि ज्ञानकेन्द्र पाल्पाले स्मार्ट कृषिगाउँ कार्यक्रममा सिफारिस भएका चार वटै क्षेत्रमा अनुगमन गर्ने काम गरिसकेको जनाएको छ । नवीनतम प्रविधिमा आधारित भएकाले उपभोक्ताको चाहनाअनुसार उत्पादन गर्नुपर्ने, मौसम अनुकूल बाली लगाउनुपर्ने, उत्तरदायी भएर काम गर्नुपर्ने, नवीनतम प्रविधि कृषकले जानेर बुझेर कार्यक्रम गर्नुपर्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठ बताए ।

स्मार्ट कृषि गाउँ कार्यक्रमले सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत सहयोग पुग्नेछ । छनोटमा परेका स्मार्ट कृषिगाउँमा तीन पटक खेती गरिनेछ । चालू आर्थिक वर्षको बजेटमा हरेक स्मार्ट कृषिगाउँलाई सरकारले ५० लाखका दरले बजेट विनियोजन गरिसकेको छ ।

पहिलो वर्ष २० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी, समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार ००:००