१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कृषकलाई आत्मनिर्भर बनाउन ‘स्मार्ट कृषिगाउँ’ को अवधारणा’



फागुन २१, राँझा । प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन ‘स्मार्ट कृषिगाउँ’ को अवधारणा ल्याएको बताएकी छन् ।

“कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र आधुनिकीरणसँगै व्यावसायिकीकरण गर्न ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याइएको हो” खजुरा गाउँपालिका–२ सीतापुरमा सोमबार स्मार्ट कृषिगाउँको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले भनिन्, “कृषिबाटै आत्मनिर्भर हुनसके समृद्धिको आधार तय हुने भएकाले प्रदेश सरकारले यसतर्फ प्राथमिकता दिएको छ ।”

स्मार्ट कृषिगाउँ कार्यक्रमले सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत सहयोग पुग्ने उनले उल्लेख गरिन् । मन्त्री पौडेलले स्मार्ट कृषिगाउँमा जमीन बाँझो राख्न नपाइने बताउँदै ‘स्मार्ट कृषिगाउँ’ निर्माणका लागि दुई प्राविधिक स्मार्ट सिँचाइ, स्मार्ट बजार, स्मार्ट प्रविधि, स्मार्ट खाद्य व्यवस्थापन लगायत समेटेर गाउँलाई नै कृषिमा स्मार्ट बनाइने मन्त्रालयको योजना रहेको बताइन् ।

सीतापुर स्मार्ट कृषिगाउँमा ८७ घरधुरीले ७१ बिघा क्षेत्रफलमा वर्षायाममा धान, मकै र तरकारी, हिउँदमा गहुँ, तरकारी, तोरी, मसुरो, चना, आलु र खुर्सानी र वसन्तयाममा मकै र तरकारी खेती गरर्ने कार्ययोजना रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ को बेलासपुर, कोहलपुर नगरपालिका–१३ मा रहेको खड्कवार, राप्तीसोनारी गाउँपालिका–७ को फत्तेपुर, डुडुवा–३ को वनकट्टी, वैजनाथ–४ को नौलापुर र खजुरा गाउँपालिका–२ को सीतापुरलाई ‘स्मार्ट कृषिगाउँ’ घोषणा गरिएको छ ।

छनोटमा परेका ‘स्मार्ट कृषिगाउँ’मा तीन पटक खेती गरिनेछ । चालू आर्थिक वर्षको बजेटमा हरेक स्मार्ट कृषिगाउँलाई सरकारले ५० लाखका दरले बजेट विनियोजन गरिसकेको छ । यसमा स्थानीय किसानले १० लाख लगानी गर्नुपर्ने प्रावधान रहेको छ । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार ००:००