१८ कार्तिक २०८१, आइतबार | Mon Nov 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकाशेपुल नहुदा पैदल यात्रीलार्इ सास्ती



फागुन १६, ललितपुर । गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५ २० मिनेटसम्म कुर्ने गर्छिन् । सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उनी बताउछिन् ।

कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उनी कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्छिन् । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किएकी महर्जन भन्छिन्, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।”

एक दशकयता सडकमा सवारी साधनको सङ्ख्या बढेसँगै सडक काट्न थप गाहे भइरहेको उनको भनाइ छ । सवारी साधनको चाप बढिरहँदा पनि आकाशेपुल बन्न नसक्दा महर्जनजस्तै सबै महानगरवासी हैरान छन् । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा कतै पनि आकाशेपुल छैन । आकाशेपुलको अभावमा पैदलयात्रु धेरै समय कुरेर ‘जेब्राक्रसिङ’ बाट बाटो काट्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई बाटो काट्न झनै कठिन छ ।

झम्सिखेलका जीवराम थापामगर पनि आकाशेपुल नहुँदा बाटो काट्न पर्ने स्थानमा हिँड्नसमेत नसक्ने अवस्था रहेको बताउछन् । पैसठ्ठी वर्षीय उनी चार दशकदेखि यहाँ बस्दै आएका हुन् । केही वर्ष पहिलेसम्म सजिलै सडक वारपार गर्न सकिए पनि अहिले कठिन भएको उनको भनाइ छ । आकाशेपुल ठाउँठाउँमा नहुँदा १५ १६ वर्षका ठिटाठिटीलाई समेत एक्लै सडक पारी पठाउन नसकिएको थापा बताउछन् । उनी भन्छन्, “आकाशेपुल नहुँदा हामी बूढापाका र केटाकेटीलाई बाटोमा हिँड्न पनि गाहे भयो ।”

केही वर्षमा सवारीसाधनको चाप ह्वात्तै बढेको महानगरवासी बताउँछन् । चाप बढे पनि बाटो पार गर्नका लागि महानगरपालिकाले आकाशे पुल निर्माण गरेको छैन । महानगरपालिकाका भित्री र व्यस्त सडकमा बाटो काट्नका लागि लामो समयसम्म कुर्नुपरेको स्थानीयवासीको गुनासो छ । चालकले ‘जेब्राक्रसिङ’ मा समेत पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको पैदलयात्रु बताउँछन् ।

महानगरपालिकामा अहिलेसम्म पुल्चोक, ग्वार्खो र बागडोल गरेर तीन ठाउँमा मात्रै आकाशेपुल छन् । ग्वार्खो र बागडोलमा चक्रपथ सडक विस्तारका क्रममा चिनियाँ निर्माण कम्पनीले पुल निर्माण गरेको थियो । मुख्य सडकमा भने पुल्चोक एक ठाउँमा मात्रै आकाशेपुल निर्माण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउछन् । उनी भन्छन्, “भित्री शहरका धेरै ठाउँमा आकाशेपुल आवश्यक भए पनि हामीले निर्माण गर्न सकेका छैनौँ ।”

महानगरपालिकाको लगनखेल, मङ्गलबजार, कुपण्डोल, जावलाखेल लगायत स्थानमा आकाशेपुल बढी आवश्यक रहेको प्रवक्ता महर्जनको भनाइ छ । महानगरपालिकाले चालू आवमा आकाशेपुल निर्माणका लागि बजेट नछुट्ट्याएको जानकारी दिँदै उनी भन्छन्, “चालू आवमा योजना बनाएर आगामी वर्ष काम गर्ने योजना छ ।”

महानगरपालिकाले पैदलयात्रु र सवारीसाधन दुवैको चाप बढी भएका ठाउँमा आकाशेपुल निर्माणका लागि अध्ययन शुरु भएको बताएको छ । आकाशेपुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० को काम भइरहेको प्रवक्ता महर्जन बताउछन् । कुपण्डोल, अल्का अस्पताल, पाटन अस्पताल अगाडिलगायत ठाउँमा आकाशेपुल बढी आवश्यक भएकाले अध्ययन भइरहेको उनले जानकारी दिए ।

अस्पताल अगाडि र चक्रपथका चोकमा आकाशे पुल बढी आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले चक्रपथको यस सडकखण्ड हस्तान्तरण गरेपछि सरकारले विभिन्न छ स्थानमा आकाशे पुल निर्माण गरिरहेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । प्रवक्ता महर्जन भन्छन्, “यो वर्ष अध्ययन सकिएपछि आगामी वर्ष योजनामा पर्नेछ ।”

उपत्यकाका सवारी साधनको चाप बढी हुने थापाथलीमा ‘फ्लाई ओभर’ का लागि जापानी सहयोग संस्था जाइकाले अध्ययन गरिरहेको छ । सो पुल थापाथलीबाट त्रिपुरेश्वर, माइतीघर र कुपण्डोलसम्म हुने बताइएको छ । रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार ००:००