२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुंखुदेउरालीमा १५ शैय्याको अस्पताल निर्माण हुँदै



फागुन १५, पर्वत । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका ५ लुंखुदेउरालीमा १५ शैय्याको अस्पताल बनाइने भएको हो ।

साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैय्याको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका ५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ शैय्याको सहितको अस्पताल बनाउन अनुमति प्रदान गरेपछि निर्माण प्रक्रिया थालिएको हो ।

सङ्घीय र प्रदेश सरकारको ९० प्रतिशत र स्थानीय महाशीला गाउँपालिकालको १० प्रतिशत साझेदारीमा अस्पताल सञ्चालन गर्न लागिएको अध्यक्ष उच्चैले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि सुधारमन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र प्रतिनिधिसभा सदस्य पदम गिरीले विशेष पहल गरेको उच्चैको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार अस्पतालको नवनिर्मित भवन निर्माणका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ । पौडेलले भने, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको जग्गा र भौतिक संरचनामा केही थप गरेर आवश्यक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको हो । स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको उनको भनाइ छ ।

अस्पतालको भवन निर्माण गर्न आवश्यक बजेटसमेत यसै वर्ष विनियोजन भइसकेको बताइएको छ । अब तत्काल भवन निर्माणका लागि आवश्यक तयारी गरिने वडाध्यक्ष उच्चैले जानकारी दिए ।

यस क्षेत्रमा अस्पताल निर्माण भएपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि सदरमुकाम कुश्माबजार, पोखरा, स्याङ्जा जान बाध्य स्थानीयवासी लाभान्वित हुने भएका छन् ।

यो अस्पतालबाट महाशीला गाउँपालिकाका छ वटै वडा, फलेवास नगरपालिकाको वडा नं १० कुर्घा, पैंयु गाउँपालिकाका भोर्ले र सरौखोला तथा विहादी गाउँपालिकाको बाच्छा लगायत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् । रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार ००:००