२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको आफ्नो भवन नहुँदा कामकाजमा समस्या



माघ २९, डोटी । दुई नगरपालिका र सात गाउँपालिका सहित नौ स्थानीय तहमा आफ्नो भवन नहुँदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ ।

दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् । गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “भवन बनाउने निर्णय त गरेका छौँ, सबैलाई पायक पर्ने ठाउँमा जमीन नपाउँदा समस्या भएको छ ।”

जिल्लाका सायल, आदर्श, पूर्वीण्चौकी र बडीकेदार गाउँपालिकाले अहिलेसम्म आफ्नो भवन बनाउन सकेका छैनन् भने बोगटान, जोरायल तथा केआइसिंह गाउँपालिकाले तत्कालीन गाउँ विकास समितिकै भवनमा कामकाज चलाउँदै आएका छन् । गाउँपालिका सञ्चालनका लागि ती भवनमा पर्याप्त मात्रामा कोठा नहुँदा कामकाजमा समस्या हुने गरेको जोरायल गाउँपालिका कार्यकारी प्रमुख समिर भण्डारीले बताए । उनले भने, “भवन सानो छ, कोठा पर्याप्त नहुँदा कठिनाइ भएको छ ।” यहाँका कतिपय स्थानीय तहका भवन काहाँ राख्ने भन्ने विषयमा स्थानीयवासीबीच विवाद हुँदा भवन निर्माण गर्न समस्या भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

सवारीसाधन दर्ता नविकरण दिपायलबाट

सवारीसाधन दर्ता नवीकरण अब पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरबाट हुने भएको छ । करीब डेढ महीना पहिलेदेखि सवारीसाधन चालक अनुमतिपत्र नवीकरण सेवा शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय दिपायल राजपुरले सोमबारदेखि सवारी दर्ता किताव (ब्लुबुक) नवीकरण सेवा पनि शुरु गरेको हो । कार्यालय प्रमुख ध्रुव दयालका अनुसार ब्लुबुक नवीकरण गर्न अब कैलाली जानुपर्ने छैन ।

यातायात व्यवस्था सेवा कार्यालय दिपायल, राजपुरबाट सवारी चालक अनुमतिपत्र नवीकरण, ब्लुबुक नवीकरण, अस्थायी बाटो निर्धारण, यातायात क्षेत्रमा अनुगमन लगायत काम हुनेछन् । दिपायलको राजपुरमा जेठ महीनासम्ममा लाइसेन्सका लागि ट्रायल सेन्टर निर्माण गरी आगामी असारदेखि नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिनेछ । कर्मचारी अभावमा सवारीसाधन जाँचको काम गर्न नसकिएको दयालले बताए । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००