१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतपत्र र मतदाता नामावलीबारे धेरैको जिज्ञासा



भीष्मराज ओझा । काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे आवश्यक जानकारी दिन स्थापना गरेको ‘कल सेन्टर’मा मतपत्र र मतदाता नामावलीका सम्बन्धमा बढी जिज्ञासा आउने गरेका छन् ।

आयोगले यही वैशाख १५ गतेदेखि सुरु गरेको कल सेन्टरमा औसतमा मतदाता शिक्षा, मतदाता नामावली, मतपत्र तथा मतदान गर्ने तरिका, आचारसंहिता, आयोगको वेबसाइट, निर्वाचनमा सुरक्षालगायत विषयमा जानकारी लिन दैनिक सयौँ टेलिफोन आउने गरेका छन् ।

आयोगले उम्मेदवार, मतदातालाई तथा जिज्ञासा राख्ने जोसुकैलाई निर्वाचनका बारेमा जानकारी दिन मुलुकभरबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१४४२२२ को टेलिफोन व्यवस्था गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कल सेन्टर दोस्रो चरणको निर्वाचन हुने मिति आगामी जेठ ३१ गतेसम्म सञ्चालनमा रहनेछ ।

कल सेन्टरमा एकैपटक छ जनाले संगै फोन गर्नसक्ने र त्यति नै संख्याका फोन प्रतिक्षामा रहने व्यवस्था गरिएको छ । फोन रिसिभरले फोनमा आएका जिज्ञासाको अवस्था हेरेर तत्काल समाधान गर्ने र अन्यको हकमा सम्बन्धित शाखाबाट जानकारी लिई जिज्ञासा मेट्ने काम गरिरहेको आयोगका उपसचिव तथा कल सेन्टरका संयोजक विशकसेन ढकालले बताए ।

“आचारसंहिता कहीँ कसैले उल्लङ्घन गरेको जानकारी आएमा त्यसको निश्चित गरेर आयोगको सम्बन्धित निकायमा खबर पुर्याइदिन्छौँ, बढी जिज्ञासा आउने विषय मतदाता नामावली हेर्न छुट्टै प्रविधिज्ञ राखेका छौँ” – संयोजक ढकालले भने । टेलिफोनमा धेरैले मतदाता नामावलीमा नाम हेर्न र मतपत्रमा मतदान गर्ने तरिकाका बारेमा सोध्ने गरेको उनले जानकारी दिए ।

मतपत्रमा पहिलो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथो लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटौँ र सातौँ लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि रहेको छ ।

मतपत्रको छैटौ र सातौँ लाइनमा संसद्मा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौँमा एक चुनाव चिह्न र सातौँमा एकै दलको दुई चुनाव चिन्ह राखिएको छ । यस विषयमा धेरै मतदातामा द्विविधा देखिएको छ ।

खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिन्ह र दोस्रोलाई दुई चिन्हको व्यवस्था गरिएको संयोजक ढकालले बताए । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिन्ह राखिएको छ ।

कल सेन्टरको व्यवस्थापनमा खटिएका नेपाल टेलिकमका इन्जिनियर द्रोण घिमिरेका अनुसार दैनिक २०० भन्दा बढी फोन आउने गरेको र बुधबार बिहानसम्म जम्मा एक हजार ६५१ फोन आइसकेको छ । आएका फोनमध्ये सबैभन्दा बढी मतदाता शिक्षा, मतदाता नामावली, मतदान प्रक्रिया, आचारसंहिताबारे रहेका छन् ।

कल सेन्टरका फोन रिसिभर (फोन उठाउने) लक्ष्मी गैरेले निर्वाचनका कार्यक्रमअनुसार नै दिनैपिच्छे जिज्ञासा पनि फरकफरक आउने गरेको बताइन् । कल सेन्टर बिहान ८ देखि साँझ ८ सम्म निरन्तर खुल्ला रहन्छ । कतिपयले कहिलेकाहीँ टेलिफोनमा जानकारी पाउन किन ढिला भयो, आयोगले विद्यालयमा मतदान केन्द्र राख्दा विद्यार्थीको पढाइमा अवरोध हुँदैन त भन्ने गुनासो पनि पोख्ने गरेका छन् ।

मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले निर्वाचन चिन्हबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता / स्वयम्सेवक परिचालन गर्ने जनाएको छ ।

यस निर्वाचनमा छ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर (चुनाव चिन्ह) भएको मतपत्र काठमाडौँलगायत बढी दल दर्ता भएका जिल्लामा छ भने सबैभन्दा सानो थोरै दल भएको मनाङलगायतका जिल्लामा १८ लहर भएको मतपत्र छ । अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ ।

प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा मतदान गर्ने समय बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म छ । आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार ००:००