कात्तिक २७, दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेशको विकास र समृद्धिका लागि सरकारले पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।
वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा वेदव्यासभूमि दमौलीमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा सहभागी हुँदै उनले भने, “ यो प्रदेशभित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक ठाउँलाई पर्यटनसंग जोडेर विकास र विस्तार गर्नुपर्दछ ।”
मन्त्री चुमानले देवघाटधाम–व्यासभूमि–गलेश्वर हुँदै मुक्तिनाथ धामलाई जोड्नुपर्ने आवश्यकता माथि जोड दिदैं व्यास भूमिको विकासका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताए ।
सबै धर्मशास्त्र वेदबाट मिश्रित भएकाले सबैलाई समावेशी बनाउन सक्ने धर्म हिन्दू धर्म मात्रै रहेको चर्चा गर्दै उनले वेदव्यासभूमिलाई हिन्दूको मूल थलो बनाउने अभियानमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री चुमानले सबैको पहिचान स्थापित गर्नमा सङ्घीयताले सहयोग पु¥याउने बताउँदै भने, “बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक समाज निर्माण गर्न सके मात्रै सामाजिक न्याय स्थापित गर्न सकिन्छ र यस कार्यमा सङ्घीयताले सहयोग पु¥याउनेछ ।”
सो अवसरमा वैदिक सनातन धर्म संरक्षण समाज काठमाडौंका अध्यक्ष हुमनाथ अधिकारी र सचिव सागर रिजालले व्यासभूमिलाई हिन्दूको पवित्र तीर्थस्थल बनाउनुपर्नेमा जोड दिए । व्यास गुफाका मूल संरक्षक दामोदर बाबा, व्यासका अध्येता काशीनाथ न्यौपाने लगायतले महामिलन पर्वको उद्देश्यका बारेमा प्रकाश पारे ।
यही कात्तिक १ गतेदेखि शुरु भएको महामिलन पर्व आगामी ३० गतेसम्म सञ्चालन हुनेछ । महामिलन पर्वमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको आयोजकले जनाएको छ ।
पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवान श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचार विधिले पूजा, वेद, विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचन लगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।
रासस
प्रतिक्रिया