२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधिको अग्रसरता



 

कात्तिक २७, नेपालगञ्ज । शान्ति सुरक्षा कायम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले अग्रसरता देखाएका छन् । आफ्नो गाउँ समाजलाई सभ्य, सु–संस्कृत तथा शान्तिपूर्ण बनाउन गाउँपालिकाले प्रहरीसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो ।

समुदायका लागि ‘प्रहरी पालिका’ नामक समिति गठन गरिसकेको उक्त गाउँपालिकाले शान्ति, अमनचैन कायम गर्न विभिन्न कार्यक्रम गर्नेछ । उक्त कार्यक्रमका लागि गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिसकिएको छ ।

समितिमा उपाध्यक्ष धनीकुमारी खत्री र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नीरञ्जन घिमिरे सहसंयोजक तथा प्रहरीचौकी अगैयाका प्रहरी सहायक निरीक्षक उजिरसिंह दर्लामी सदस्य–सचिव रहेको छ । समितिमा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायत सदस्य छन् ।

मेलमिलापकर्तालाई तालीम

बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका मेलमिलापकर्तालाई लामो अवधिको आधारभूत प्रशिक्षणका लागि छनोट गरिएको छ । छनोटमा परेका २७ जना मेलमिलापकर्ताका लागि न्यायिक समितिलाई सहयोग पुग्ने गरी तालीम सञ्चालन गरिएको छ ।

अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् । फौज्दारी मुद्दाबाहेक अन्य मुद्दा गाउँमै समाधान गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेअनुरुप नै मेलमिलापकर्तालाई तालीम दिन लागिएको न्यायिक समिति संयोजक उपप्रमुख एकमाया विकले बताइन् ।

तालीममा सहभागीले दैनिक नौ घण्टा अनिवार्यरुपमा तालीम लिनुपर्ने र उनीहरुलाई विवाद समाधानका लागि अवलम्बन गर्नुपर्ने सबै किसिमको प्रक्रिया सिकाइने उपप्रमुख विकले जानकारी दिइन् । तालीमपछि खजुरा गाउँपालिकामा मेलमिलाप केन्द्र स्थापना गरेर मेलमिलापकर्तामार्फत ११ प्रकारका विवाद समाधानको प्रयत्न गरिने बताइएको छ ।

तालीम शुभारम्भका अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्थानीय सरकार सञ्चालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशका रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढङ्गबाट विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००