२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमः खनाल र नेम्वाङका ३७ योजना



 

कात्तिक २७, मङ्गलबारे । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि चार चार करोड विनियोजन गरेका छन् । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन् ।

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा ६० लाखका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकामा १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् ।

यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि ९० लाख, देउमाई नगरपालिकाका लागि ८३ लाख, माई नगरपालिकामा ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने ६५ लाखका दरले रकम विनियोजन गरेका छन् ।

नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गरेको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए ।

सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि ५० लाख छुट्याएका छन् ।

नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि ५० लाख छुट्याएका छन् । सङ्घीय सांसदले चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उनीहरूले बजेट तथा योजना छनोट गरेका हुन् ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००