२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो



 

सुशीला रेग्मी
कात्तिक २५, बेझाड– पाल्पा ।

कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको हो ।

तालपोखरामा डुङ्गा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बगनासकाली गाउँपालिका आर्यभन्ज्याङ्की नारायणी भट्टराईले बताइन् । तालपोखराको भौतिक पूर्वाधार अगाडि बढ्दै गएको खण्डमा फेवातालले जस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउनसक्ने उनी बताउछिन् ।

करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको कृत्रिमताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको अहिले चाप बढ्दै गएको हो । दिनहुँ दुई सय भन्दा बढी पर्यटकले डुङ्गा सयर गर्ने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउछन् ।

फेवातालको स्वरूपमा निर्मित तालपोखरामा डुङ्गा सयर गर्ने, तालको बीचमा रहेको जलेश्वर महादेवको मूर्तिमा पूजा गर्ने, फोटो खिचाउनेको चहलपहल रहेको छ । “डुङ्गा सयर गरेर ताल वरिपरि घुम्दै आनन्द लिन आउनेको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा आम्दानी पनि राम्रै हुँदै गएको छ” देवकोटाले भने ।

साउनबाट यता पाँच हजार पर्यटकले डुङ्गा सयर गरेको र दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको छ । २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्गा सञ्चालन शुरु गरिएको हो । यहाँ नियमितरूपमा दुईवटा डुङ्गा सञ्चालनमा छन् ।

अहिलेसम्म डुङ्गा सञ्चालनबाट आठ लाख बराबरको आम्दानी भएको समितिका सचिव देवकोटाले जानकारी दिए । डुङ्गाबाट उठेको आम्दानीको ४० प्रतिशत रकम डुङ्गा चलाउनेलाई दिने व्यवस्था गरिएको छ । प्रतिव्यक्ति ५० टिकट कायम गरिएको छ ।

आम्दानीको स्रोत बढाउन तालपोखरामा माछाका भुरासमेत राखिएको छ । अहिले १६ हजार माछा यहाँ रहेका छन् । माछा बिक्रीबाट करीब २० लाख बराबरको आम्दानी गर्ने समितिको सोच छ ।

कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । पार्कबाट पनि राम्रै आम्दानी गर्ने वातावरण मिलेको छ । अहिलेसम्म पार्कबाट २५ हजार बराबरको आम्दानी भएको छ । पार्क प्रवेश शुल्क प्रतिव्यक्ति पाँच कायम गरिएको छ ।

मासिक ५० हजार खर्च हुने गरेको छ । दानपेटिकाबाट एक लाख भन्दा बढी रकम सङ्कलन भएको छ । तालपोखराको भौतिक पूर्वाधारमा हालसम्म एक करोड २० लाख रकम खर्च भइसकेको छ भने बाँकी एक करोड बराबरको रकम लाग्ने अनुमान छ ।

अहिलेसम्म पाल्पा, स्याङ्जा, तनहुँ, नवलरासी, रुपन्देही, कास्की, चितवन, नेपालगञ्ज, इलाम, अछाम लगायत थुप्रै जिल्लाका आन्तरिक पर्यटक भित्रिसकेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए ।

“निकट भविष्यमा पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुरमा भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ” उनले भने, “तालपोखराको विकासका लागि स्थानीयवासीले महायज्ञ सञ्चालनबाट रकम सङ्कलन गरी २०६६ बाट यसको काम अगाडि बढाएका हुन् ।

रामपुर नगरपालिकाले आ व २०७३÷७४ मा एक लाख २५ हजार, ०७४÷७५ मा २८ लाख र ०७५÷७६ मा २० लाख रकम भौतिक पूर्वाधारका निम्ति सहयोग गरेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिए । सरकारले हालैमात्र एक सय पर्यटकीय क्षेत्र अन्तर्गत तालपोखरालाई पनि पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरेको छ ।
रासस

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार ००:००