२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोप हुँदै परम्परागत घुमाउने घर



 

ध्रुवसागर शर्मा
कात्तिक २५, गलेश्वर ।

म्याग्दीका ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् । घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षैपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो ।

त्यसो त ग्रामीण क्षेत्रमासमेत आधुनिक सुविधासम्पन्न घर बनाउने चलन बढेकाले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्षअघिसम्म म्याग्दीका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध देखिन्छ । हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका छन् ।

केही वर्षअघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको बेनी नगरपालिका २ ज्यामरुककोटका ७४ वर्षीय रणबहादुर कार्की बताउछन् । “१०० वर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा छैनन् जीर्ण भइसकेका छन” उनी भन्छन् ।

मानिस उज्यालो, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोप हुँदै गएको बेनपा–६ का बालकृष्ण सुवेदीले बताए । जस्तापाताको व्यापक प्रयोग, सुलभ रूपमा पाइने र एक पटक छाएपछि बीसौँ वर्ष रहने हुनाले पुराना घर उपयोगविहीन हुन थालेको उनले बताए ।

डेढ दशकअघिसम्म म्याग्दीका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औलामा गन्न सकिने छन्, स्थानीय धनबहादुर श्रीषले भने । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ ।
रासस

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार ००:००