कात्तिक, भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् ।
लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका युवाहरू पनि तरकारी खेती गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न मुश्किल पर्छ,” किसान हरिराम चौधरीले भने, “अरु खेतीभन्दा यसमा राम्रो आम्दानी भएर सबै तरकारीमै लागे ।” २०५८ सालमा चार कठ्ठा जमीनबाट तरकारी खेती शुरु गरेका चौधरीले अहिले १५ बिगाहा जमीनमा तरकारी खेती गरेका छन् ।
“राम्रो आम्दानीसँगै तरकारी खेतीले जिल्लामै किसानमाझ आफ्नो परिचय बनाइदियो।” उनले भने, “अहिले गाउँमै तरकारी खेतीको लहर चलेको छ ।”
सुरूमा आर्थिक अवस्था कमजोर भए पनि तरकारी खेति गर्न थाले पछि आर्थिक अवस्था मजबुद भएको चौधरीको अनुभव छ । चौधरी भन्छन्, “तरकारीले नै पाँच पटक सम्मान थाप्ने अवसर समेत पाएँ ।”
जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार र राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका चौधरीले तरकारीकै आम्दानीबाट कैलालीको अत्तरियामा जमीन खरीद गरेर घर बनाएका छन् । चौधरीले तरकारीको कमाइबाट ट्याक्टर, अत्तरियामा घर बनाउनुका साथै एक बिगाहा जमीन जोडे । चौधरीले अहिले तरकारी खेतीबाट वार्षिक १२ देखि १३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
त्यस्तै बालुवाफाँटाका टेकबहादुर चौधरी पनि तरकारी खेतीमै व्यस्त छन् । दुई वर्ष कतारमा मजदूरी गरेर घर आएको चौधरीले अहिले १५ कठ्ठा जमीनमा तरकारी लगाएका छन् । “वैदेशिक रोजगारबाट फर्किए पछि एक कठ्ठाबाट जमिनमा तरकारी खेती सुरू गरेँ,” उनले भने “खेती फष्टाउन थालेपछि बढाउँदै लगेको छु ।”
तरकारी खपतका लागि बजारको समस्या नरहेको उनले बताए । “तरकारी लिन जिप गाउँमै आइपुग्छन्,” उनले भने, ““गाडी नआएको दिन मोटरसाइकलमा भए पनि तरकारी बजार पु¥याउँछु ।”
कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष नत्थुराम चौधरीले गाउँमा ५० प्रतिशत किसान तरकारी खेतीमा लागेको बताए । “पहिले धान गहुँमै जोड थियो,” वडाध्यक्ष चौधरीले भन्नुभयो, “अहिले तरकारी खेती बढेको छ ।” उनलेले किसानको प्रोत्साहनका लागि सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । रासस
प्रतिक्रिया