कात्तिक १३, सर्लाही । रामनगर गाउँपालिकामा आज बिहान नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि मृत्यु भएको कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए ।
गोलको छर्रा लागेर तथा झडपमा परेर सात जना घाइते भएका छन् । घाइते लिन पुगेको एम्बुलेन्समा समेत तोडफोड भएको छ । दश घरको खरले छाएको छानासमेत फुटाइएको छ । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ ।
सो स्थानमा सोमबार मात्रै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि आक्रमण भएको थियो । आक्रमणबाट वडाध्यक्ष महतोको टाउकामा गहिरो चोट लागेको तथा बायाँ खुट्टा भाँच्चिएको छ ।
आज बिहान गोली लागेर मृत्यु भएका रामविलास घाइते वडाध्यक्षकै काका हुन् । घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ । गोली चलेको ठाउँ आसपास अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम भइरहेको उनले बताए । कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद हुँदा गोली चलेको बताइए पनि घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस
प्रतिक्रिया