२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवपुरी निकञ्जले शुल्क बढाइएकोमा स्थानीयवासीको गुनासो



कात्तिक १०, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश गर्न शुल्क बढाउँदा आवतजावतमा समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयले असोज २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वन क्षेत्रको गैरकर बढाएको थियो । यसअघि ५७ रुपैयाँमा प्रवेश दिने गरिएको अहिले १ सय १८ रुपैयाँ पु¥याइएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धरले बताए ।

“निकुञ्जभित्र बस्ती भएका स्थानीयवासीलाई पनि प्रवेशद्वारमा कागजात मागिन्छ, कागजात नभए १ सय १८ रुपैयाँ लिन्छ,” मानन्धरले भने, “शुल्क बढाउँदा निकुञ्ज क्षेत्रका स्थानीय तहसँग कुनै छलफल भएन,”

वडा नं १ अन्तर्गत सिन्धुपाल्चोक र नुवाकोटसँग सीमा जोडिएका ओखरेनी, चिलाउने, कुने, मूलखर्कलगायत बस्ती छन् । निकुञ्ज प्रवेश गरेको शुल्क ५७ रुपैयाँ बनाउनुअघि १० रुपैयाँ थियो । निकुञ्ज प्रवेश गर्ने सडक निर्माण र मर्मत सम्भार भने स्थानीय तहले नै गर्दै आएको वडाअध्यक्ष मानन्धर बताउँछन् ।

निकुञ्ज कार्यालयका प्रमुख कमलजङ्ग कुँवर भने सबै बढाइएको मात्र नभई केही शुल्क घटाइएको दाबी गरे । यसअघि साइकल लिएर जाने नेपाली नागरिकलाई १ सय रुपैयाँ लिइन्थ्यो । हाल घटाएर रु २० मा झारिएको छ । विदेशीले साइकल लिएर जाँदा भने १ सय रुपैयाँ तिर्नुपर्छ ।

“निकुञ्जभित्र बसोवास गर्नेसँग प्रवेशमा शुल्क लिइँदैन, बाहिरका मानिससँग शुल्क लिई मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेलाई जम्मा उठेको रकमको आधा दिइन्छ, गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाख उठेको थियो, यस वर्ष यसको दोब्बर सङ्कलन गर्ने लक्ष्य छ”, उनले भने ।

निकुञ्ज काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको छ । निकुञ्ज प्रवेश गर्ने विदेशीसँग भने एक हजार १ सय रुपैयाँ लिइन्छ ।

निकुञ्जभित्रको बस्तीमा बाँदर, बँदेलजस्ता जङ्गली जनावरले खेत बारीमा लगाएको बाली खाइदिन्छ । जसले गर्दा पुस्तौँदेखि थातथलोमा बस्दै आएकालाई जीवन धान्न धौ–धौ हुने गरेको छ । रासस 

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार ००:००