कात्तिक ५, सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँचमा रहेका जिल्ला अस्पताललाई स्तरोन्नति गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरिएको जानकारी दिए । “प्रदेश सरकारले सल्यान सहित पाँच जिल्लाका जिल्ला अस्पताललाई १५ शैयाबाट ५० शैयामा पु¥याउने गरी स्तरोन्नतिको काम शुरु गरिसकेको छ, बाँकी पाँच जिल्लामा भने स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिनेछ”, मन्त्री ज्वालाले भने ।
उनले कर्मचारी व्यवस्थापन नभएसम्मका लागि मात्रै दुई जिल्ला हेर्ने गरी कार्यालय स्थापना गरिएको बताए । सल्यान जिल्ला अस्पताललाई स्तरोन्नति गर्नका लागि चालु आवमा दुई करोड तथा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि ५० लाख विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।
सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई दोहोरो नहुनेगरी स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न मन्त्री ज्वालाले आग्रह गरे । “सबै स्थानीय तहका नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउनुपर्छ, जनताले स्वास्थ्य सेवा पाउने गरी स्वास्थ्य क्षेत्रमा समन्वय गरी बजेट विनियोजन गर्न अनुरोध गर्छु”, मन्त्री ज्वालाले भने ।
सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जिल्ला स्वास्थ्य कार्यालय सल्यानको म्याद असोज ३० देखि सकिएकाले अब सल्यान र रुकुम पश्चिम हेर्ने गरी नयाँ स्वास्थ्य कार्यालय स्थापना भएको जानकारी दिए ।
रासस
प्रतिक्रिया