२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर बजारमा छाडा चौपायाले समस्या



 

असोज ३१, दाङ । तुलसीपुर बजारमा छाडा चौपाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुनेगरेको छ । बजारका मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् ।

ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै आवागमनमा समेत समस्या हुने गरेको छ । बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु छाडा छोडिएका छन् ।

तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आएकी मीना भण्डारीले आफूलाई चौपायाले निकै सास्ती दिने गरेको बताउछिन् । उनले भनिन्, “पसलमा ग्राहक फलफूल किन्न आएका हुन्छन्, आफू व्यस्त हुन्छु, गाई आएर खाइदिने हुँदा समस्या हुने गरेको छ ।”

छाडा चौपायाले बालीनाली नोक्सान गर्नुका साथै सडकमा जताजतै बस्ने भएका कारण आवातजावत गर्ने सवारी साधनदेखि सर्वसाधारणलाई समेत समस्या हुने गरेको तुलसीपुर निवासी नीरा ढुङ्गानाले बताए ।

उनले भने, “दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति बढेका कारण आफूहरूले समस्या खेप्नुपरेको छ” तुलसीपुर निवासी हरि अधिकारीले छाडा चौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कुनै साचो नदिएको गुनासो गरे । उनले भने, “अहिले तुलसीपुर बजार क्षेत्रमा १०० को हाराहरीमा छाडा चौपाया रहेको र तीनले निकै सास्ती दिएका छन् ।”

यस सम्बन्धमा तुलसीपुर उपमहानगरपालिकासँग जिज्ञाशा राख्दा उपप्रमुख माया आचार्यले छाडा चौपायाले नागरिकलाई सास्ती दिएको स्वीकार गर्दै अब छिट्टै व्यस्थापन गर्ने बताइन् ।

उनले तुलसीपुर उपमहानगरपालिका १२ को शीतलपुरमा गौशाला निर्माणका लागि उपयुक्त स्थान छनोटसमेत गरिसकेकाले अब छिट्टै नै त्यहाँ गौशाला निर्माण गरी छाडा चौपायालाई व्यवस्थापन गरिने बताइन् ।
रासस

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार ००:००