असोज ३०, दमौली । तनहुँको व्यास नगरपालिका ३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा वाइफाई सेवा उपलव्ध गराएको हो ।
वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट मनोज मल्लले सोमबार वाइफाईको औपचारिक शुभारम्भ गरे । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै चौतारामा विश्राम गर्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिएको वडा सदस्य रविन पौडेलले जानकारी दिए ।
एकै पटक १०० जनाले प्रति व्यक्ति दुई एमबीपीएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाईको व्यवस्था गरिएको वल्र्डलिङ्कका दमौली शाखा प्रमुख मनोज मल्लले बताए । लगातार एक घण्टा प्रयोगपछि भने इन्टरनेट पुन कनेक्ट गर्नुपर्नेछ । वर्ल्डलिङ्ककै ग्राहकले भने आफ्नै युजर प्रयोग गरी लगातार प्रयोग गर्न सक्ने उनले जानकारी दिए ।
चौतारा निर्माण समितिको आग्रहमा वर्ल्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदीप काफ्लेले बताए ।
निर्माण हुन लागेको तीन सय २५ फुट लम्बाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष काफ्लेले चौतारालाई नमूना बनाउने अभियान अन्तरगत समितिको आग्रहमा कैलाश बैंकले बत्ती र वर्ल्डलिङ्कले इन्टरनेट जडान गरिदिएको जानकारी दिए । सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ ।
रासस
प्रतिक्रिया