१५ कार्तिक २०८१, बिहिबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय र प्रदेश बलियो नबनाए दिगो विकासको लक्ष्य प्राप्त हुँदैनः मुख्यमन्त्री



 

असोज २३, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदासम्म दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताएका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा बुटवलमा आयोजित दिगो विकास लक्ष्य मैत्री योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा र अनुगमन मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले मुलुक सङ्घीय संरचनामा गए पनि अधिकार केन्द्रमै सीमित रहँदा प्रदेशलाई काम गर्न समस्या भएको बताए ।

स्थानीय तह र प्रदेश बलियो नबनाएसम्म दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने उनको भनाइ छ । नीतिगत र कार्यगत योजना दुवै माथिबाट तलसम्म जाने हालको परिपाटीले स्थानीय आवश्यकताको पहिचान हुन नसक्ने भन्दै उनले कार्यगत योजना तर्जुमा तल्लो तहबाट माथिसम्म जाने परिपाटीको विकास हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पोखरेलले साधन र स्रोतको असमान वितरण, न्यून पूँजीगत खर्च, आर्थिक वर्षको अन्त्यमा गएर मात्र ठूलो परिमाणमा खर्च गर्ने प्रवृत्तिले लक्षित नतिजा हासिल गर्न गर्न गाह्रो भएको बताए । उनले भने, “यसको असर सार्वजनिक वित्त क्षेत्रमा मात्र नभई वित्तीय क्षेत्र र अर्थतन्त्रमा समेत परेको छ ।”

उनले संविधानले आत्मसात् गरेको समाजवादउन्मुख राष्ट्र निर्माण एवं सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालको लक्ष्य हासिल गर्ने वा समृद्धिको आधार वर्षका रुपमा आगामी आर्थिक वर्ष रहने भएका कारण यसको सफलता वित्तीय सङ्घीयताको कुशल व्यवस्थापन, तीव्र आर्थिक वृद्धि एवं विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले देशको समृद्धिका लागि सबै तहले समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले भने, “ साधनको विनियोजन कुशलता, कार्यान्वयन दक्षता तथा वित्तीय अनुशासनका तीन वटै पक्षमा सुधार गर्नका लागि मध्यमकालीन खर्च संरचनाको तर्जुमा र कार्यान्वयन जरुरी छ ।”
रासस

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार ००:००