असोज, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज निर्वाचन क्षेत्र नं ५ अन्तर्गत सुकेधारामा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको दायित्व भएको बताए ।
विभिन्न आवरणमा सार्वजनिक सम्पत्ति कब्जा हुन सक्नेतर्फ सचेत गराउन सक्ने उनको टिप्पणी छ । “सार्वजनिक सम्पत्ति हडप्न राजनीतिक दलका छाता ओढेका व्यक्ति, उच्च ओहोदाका कर्मचारी, सामाजिक सेवामा योगदान गरेका र धार्मिक आवरण बोकेको व्यक्ति लाग्न सक्छन्,” उनले भने, “सार्वजनिक सम्पत्ति रक्षाका लागि वडा कार्यालय सजग हुनुपर्छ ।”
नीति, विधि र संरचनामा देखिएका समस्या समाधान गर्नु अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ थियो । विगतका चलनचल्तीको बुझाई, माग र आग्रहद्वारा निर्देशित हुँदा विकास निर्माण अलपत्र पर्न सक्ने उनले बताए ।
“योजना, नीति कार्यान्वयन गर्दा परिभाषित संस्थाले परिभाषित काम गर्न सक्नुपर्छ, पार्टीका नेता तथा जनप्रतिनिधि एवं समाजका सचेत नागरिकले पनि आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।”
प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनतालाई आवश्यक सेवा, सुविधा र सहयोग उपलब्ध गराउन जनतासँग जनप्रतिनिधि अभियान सञ्चालन गरिएको जानकारी दिँदै जनप्रतिनिधि जहिले पनि जनतासँगै हुने बताए । ्
धोवीखोला करिडोरमा ढल निकासको उचित प्रबन्ध नहुँदा डुबानको समस्या देखिएको उल्लेख गर्दै उहाँले गलत संरचना निर्माण गर्ने निर्माण व्यवसायी, प्राविधिकलाई कडा कारवाही गर्नुपर्ने बताए ।
वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जनताका माग तथा भावना र वडाभित्र देखिएका समस्या समाधान गर्न आफू लागिपरेको बताए ।
कार्यक्रममा सो क्षेत्रका नागरिक अगुवाले ढल, खानेपानी, सडक कालोपत्रेलगायत विकास निर्माणका क्रममा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए । रासस
प्रतिक्रिया