असोज १७, भक्तपुर । खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ ।
चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका १० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा आयोजनाबारे सम्भाव्यता अध्ययन थालेको हो ।
जिल्लाको दुई ठाउाँमा बाँध बनाइ काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने योजनासहित सो कम्पनीका क्षेत्रीय प्रबन्धक याओ फेन्ङगाङ नेतृत्वको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन थालेको हो ।
सो टोलीसँगै स्थलगत अध्ययनका लागि सांसद महेश बस्नेत मङ्गलबार सूर्यविनायक १० चित्तपोल र काभ्रेको साँगा जोड्ने बीचको भाग तथा चाँगुनारायण नगरपालिकाको मुहान पोखरी पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारसँग काठमाडौं उपत्यकामा चार बाँध बनाउनेबारे भएको सम्झौता अनुसार नै सम्भाव्यता अध्ययन थालिएको सांसद बस्नेतले बताए । चीन सरकारको निर्देशन अनुसार चिनियाँ प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि आएको हो ।
बाँध निर्माणसँगै पानी सङ्कलन गरी शुद्धीकरण विधि अपनाएर उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको छ । यी दुई स्थानमा बाँध बनाइ पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई तथा ७० प्रतिशत पानी काठमाडौं पठाउन सकिने बस्नेत बताउछन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको महादेव खोलाको मुहान पोखरीमा खानेपानीको सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई यसअघि नै बुझाएको प्रतिवेदनका आधारमा चिनियाँ कम्पनीले अध्ययन शुरु गरेको हो ।
बढ्दो जनसङ्ख्याको चाप र पानीको मागलाई ध्यानमा राखेर सो अध्ययन थालिएको हो । बाँध निर्माण गर्न चीन सरकारले नेपाललाई दुई प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान गर्ने सहमति भएको थियो ।
“मेलम्चीको पानी नपुग्ने सूर्यविनायक र चाँगुनारायणका बासिन्दालाई यहाँबाट पानी वितरण गर्न सक्छौँ, बढी भएको पानी काठमाडौं पठाउन सकिन्छ,” साँसद बस्नेतले भने । भक्तपुरको चित्तपोल र काभ्रेको साँगाको सिमानाको खोचमा बाँध बनाइ आशापुरीको पानी ल्याउने र सङ्कलन गरेर शुद्धीकरण गरी खानीपानी वितरण गर्ने योजना छ ।
सो क्षेत्रमा डुङ्गा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा पानी सिँचाइका लागि समेत प्रयोग गर्ने योजना छ । चाँगुनारायण नगरपालिकाको नगरकोटको महादेव खोलाबाट आएको पानीलाई बाँध बनाइ पानी वितरण गर्नेसमेत योजना छ ।
रासस
प्रतिक्रिया