२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर



 

असोज १६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा बालपोषणको रकम झिकी हालसम्म पनि नबाँडेको र विकास निर्माणको रकमसमेत हिनामिना गरेको अभियोग लागेको छ ।

बैंकबाट सरकारी बजेट निकाली आफ्नो घर व्यवहारमा लगाई सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हबल्दार नुरूल होदा अन्सारीले ३० हजार घुस लिएको अभियोगमा मलङ्गवा नगरपालिका १० स्थित टावरचोकबाट आज पक्राउ गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग हबल्दार अन्सारीले घुस माग्दामाग्दै आयोगको टोलीले पक्राउ गरेको थियो ।

आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लामा परिवार नियोजन सुपरभाइजर पदमा कार्यरत देवबहादुर सुवेदीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रासस

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार ००:००