२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युरिया मल नपाउँदा झापाका कृषक समस्यामा



असोज १३, झापा । गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् ।

गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाएको बताए । “पहिलेदेखि नै रासायनिक मल प्रयोग गरियो अहिले अरु मल हाले राम्रो फल्दैन,” उनले भने “‘कृषिप्रधान देश भए पनि किसान जहिल्यै पनि मर्कामा पर्ने गरेका छन् । यसप्रति सरकारले ध्यान दिनु पर्छ ।’’

गौरादह–७ कै अर्का कृषक वेदप्रसाद चुँडाल पनि बाली लगाउने समयदेखि उठाउने समयसम्म समस्या पर्ने गरेको दुखेसो गर्छन् । “बाली लगाउने समयमा मल–बिउ नै पाइदैन यस्ता समस्या धेरै छन्, समाधानका लागि कतैबाट पहल हुँदैन,” उनले भने ।

धानमा रोगको पहिचान र उपचार गर्नसमेत नसकिएको, त्यसमाथी उचित मूल्यसमेत नपाउँदा आफूहरु ठूलो मर्कामा पर्ने गरेको उनको गुनासो थियो ।

नेपाली बजारमा युरिया मल नपाइएपछि कृषकले भारतीय बजारबाट न्यून गुणस्तरको मल ल्याउने गरेका छन् । ‘‘भारतीय बजारबाट लुकाएर मल ल्याउनुपर्छ,’’ अर्का कृषक गणेश राजवंशीले भने, “मल गुणस्तरीय नभएपछि जस्तो भएपनि हाल्नु परेको छ ।”

कृषि सामग्री संस्थान र साल्टट्रेडिङ कम्पनीबाट झापाका दक्षिणी क्षेत्रका डिलरलाई युरिया मल आए पनि त्यो पर्याप्त छैन् । थोरै मात्रामा मल आउँँदा कृषकले गाडीबाटै मल उठाएर लाने गरेका छन् । रासस 

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार ००:००