असोज ११, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न अनुमति दिएको छ ।
नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रको बालुवा निकासी गर्न खुला गरेको हो । संकलित बालुवा कर तिरेर मात्र ट्रक वा टिपरबाट निकासी गर्न नगरपालिकाले सूचना जारी गरेको छ ।
राजश्व नतिरि निकासी गरेको पाइए जरिवाना र थप कारवाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले दाबी गरे ।
सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाले भने अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको मेशिनरी औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाएको छ ।
असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेबाट नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।
बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) भइसकेको र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाको हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।
नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौ गरी तीन महीनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो । रासस
प्रतिक्रिया