असोज ११, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्प पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् ।
बर्षौंदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्नो नाममा लालपुर्जा नभएका कारण घर निर्माण गर्न नपाएका हुन् ।
घर निर्माणका लागि नक्सापास अनिवार्य गरिएको छ । नक्सापासका लागी लालपूर्जा अनिर्वाय चाहिने भएकाले समस्या आएको स्थानीयवासी प्रतिमा योगीले बताइन् ।
पुनःनिर्माण प्राधिकरणले जारी गरेको लाभग्राही सूचीमा ६४ जनाकै नाम भए पनि लालपुर्जा नभएका १९ घरपरिवारले पुनःनिर्माण सम्बन्धी कुनै पनि सहायता पाएका छैनन् । बाँकीले मञ्जुरीनामा पाएकाले केही सहायता पाएका छन् ।
भूकम्प पीडित मोहन योगीले सरकारी अनुदान नपाएको र कटेरोमै बस्नु पर्ने बाध्यता भएको गुनासो गरे । जिल्ला मालपोत कार्यलयका प्रमुख मालपोत अधिकृत गोबिन्द अधिकारीले फुलपावासीको मालपोतमा कुनै पनि कागजात नभएकाले मोही र तल्सिङको सहमतिबाट समस्या समधान गर्नुपर्ने बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका जिल्ला अधिकृत रीता लम्सालले जग्गाबिहीन भूकम्पपीडितका लागि राज्यले जग्गा खरिद गर्न थप २ लाख रुपैयाँ दिने व्यवस्था गरेको बताईन् । घडेरीविहीन भूकम्प पिडितहरूका लागी आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । रासस
प्रतिक्रिया