१८ कार्तिक २०८१, आइतबार | Sun Nov 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसपार्क नहुँदा रोल्पा सदरमुकाम लिवाङका सडक बसपार्कका रुपमा प्रयोग



 

उमा केसी
असोज ८, रोल्पा ।

व्यवस्थित बसपार्क नहुँदा रोल्पा सदरमुकाम लिवाङका सडक बसपार्कका रुपमा प्रयोग हुन थालेका छन् । साँघुरा सडकमा सवारी साधान पार्किङ गरिएका कारण दुर्घटनाको जोखिम बढेको हो ।

निकै कम मात्रामा सवारी साधन सञ्चालन हुने भालुवाङ–चकचके–लिवाङ सडकखण्ड पक्की भएसँगै बाक्लो सङ्ख्यामा सवारीसाधन भित्रन थालेका र व्यवस्थित बसपार्कको अभावमा सदरमुकामको बजार क्षेत्रमा जथाभावी पार्किङ हँुदै आएकाले दुर्घटनाको खतरा बढ्नुका साथै बजार क्षेत्रको सौन्दर्यमा समेत ह्रास आएको स्थानीयवासीले बताएका छन् ।

सेवाङदेखि रेउघासम्म सडकका साथै मुख्य बजार क्षेत्र (रोल्पा नगरपालिका २ र ४ का भित्री सडक)मा सवारीसाधन राखिँदा पैदलयात्रुलाई समेत आवतजावतमा असहज हुने गरेको गुनासो बढिरहेको छ । सडकमा जथाभावी राखिएका सवारीसधान र तीव्र गतिका मोटरसाइकलका कारण कतिबेला दुर्घटनामा परिने हो भन्ने चिन्ता लाग्ने गरेको र नगरपालिकाले पनि यातायात व्यवस्थापनको काम गर्नुपर्नेमा चासो नदेखाएको स्थानीय व्यापारी राम केसीले बताए ।

जिल्ला सदरमुकामलाई केन्द्र बनाएर जलजला यातायात व्यवसायी समिति, रोल्पा यातायात प्रालि, जलजला यातायात प्रालि, आशीर्वाद यातायात प्रालि र हिमताल यातायात प्रालि, स्वर्गद्वारी यातायात, राप्ती यातायात, पाण्डेश्वरी, पश्चिमाञ्जल यातायात लगायतले समेत जिल्लाका विभिन्न स्थानमा सवारी साधन सञ्चालन गरिरहेका छन् । जिल्ला सदरमुकामबाट दाङ, नेपालगञ्ज, बुटवल, पोखरा तथा काठमाडौंसम्म दिवा र रात्रि बस सञ्चालन हुँदै आएका छन् ।

यसैगरी घर्तीगाउँ, सुलिचौर र होलेरी बजार केन्द्रबाट समेत जिल्ला बाहिर सवारी साधान सञ्चालन हुँदै आएको सम्बद्ध यातायात व्यावसायीले जनाएका छन् । आधा दर्जन बढी यातायात व्यावसायी संस्थाले सेवा प्रवाह गरिरहे उनीहरूले सावारी साधन पार्किङको व्यवस्था गर्न सकेका छैनन् । राज्यलाई कर बुझाउँदै आए पनि सवारीसाधनलाई सुरक्षित ढङ्गले पार्किङ गर्ने सुविधा नहुँदा तोडफोड हुनसक्ने खतरा बढ्ने गरेको सम्बद्ध व्यवसायीको गुनासो थियो ।

तत्कालीन जिल्ला विकास समितिले रेउघामा बसपार्क निर्माण प्रक्रिया अघि बढाएपनि विवादका कारण काम पूरा नहुँदै बेवारिसे भएको छ । जग्गाधनीहरूले विवाद गरेकाले निर्माण कार्य अवरुद्ध भएको बताइएको छ । स्थानीय निकायको थुप्रो रकम खर्च भए पनि बसपार्क सञ्चालन गर्नेतर्फ कसैको पनि ध्यान नगएकामा स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन् । स्थानीय सरकारसमेत गठन भइसकेकाले अब बसपार्क सञ्चालन गर्नुपर्ने स्थानीय समाजसेवी इन्द्रबहादुर खत्रीले जोड दिए ।

सदरमुकाम लिवाङमा सानो बसपार्क भएपनि बढ्दो सवारी साधनका लागि पर्याप्त छैन । जलजला यातायात व्यवसायी समितिका बस मात्र सो बसपार्कमा राखिने भए पनि अरु कम्पनीका बस भने सडकमै रहने गरेका छन् । निकट भविष्यमै रेउघास्थित प्रस्तावित बसपार्कमै सवारी साधानको व्यवस्थापन गरिने बताइएको छ ।

साँघुरा सडकमा अवस्थित गाडी पार्किङको समस्या समाधान गर्न पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज कृष्णबहादुर विकले जानकारी दिए । असोज १५ गतेअगावै सवारी साधान व्यवस्थापन गर्ने गरी काम अघि बढिरहेको छ, इञ्चार्ज विकले भने ।

घर निर्माणका सामग्री पनि सडकमै थुपार्ने र गाडी पनि सडकमै पार्किङ गर्नाले सदरमुकामका सडकमा दुर्घटनाका जोखिम बढिरहेको जलजला यातायात व्यवसायी समितिका प्रशासनिक इञ्चार्ज यज्ञश्वर आचार्यले बताए ।

केही समयअघि स्थानीय प्रशासनको समन्वयमा भएको बैठकले असोज ५ गतेभित्र सडकमा गाडी पार्किङ नगर्ने सहमति भए पनि कार्यान्वयन नभएको उनको भनाइ थियो । जिल्लामा यातायातका साधनको चाप दिनदिनै बढिरहँदा पनि व्यवस्थित ढङ्गको बसपार्क नहुनु दुःखद् रहेको यातायात व्यवसायीको गुनासोे छ ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार ००:००