२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धनमा टेवा पु-याउँदै बन्दीपुरको घरबास



 

कृष्ण न्यौपाने
भदौ २६, दमौली ।

पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी विदेशी पर्यटक पुग्छन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख माध्यममध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे समेत हो । देशका विभिन्न ठाउँबाट बेलाबेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको घरबासमा रमाउन आउँछन् ।

बन्दीपुरमा २०६८ सालमा स्थापित घरबासले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँले बताए । “ घरबासमार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधिसमेत बढाउन योगदान पुगेको छ” उनले भने । बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिं थापाले यहाँ सञ्चालित घरबासको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउछन् । “होमस्टे बन्दीपुरको चिनारी बनिसकेको छ” उनले भने, “यसको प्रवर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्छ ।”

हाल बन्दीपुरमा २० घरमा घरबास सञ्चालन छ । सरकारीस्तरबाट कुनै सहयोग नभएपछि स्थानीयवासीले आफ्नै पहलमा शुरु गरेका थिए । पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा घरबासमा बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी रानाले बताइन् ।

यहाँका घरबासमा एकैचोटी १०० जनासम्म बस्न मिल्ने उनले जानकारी दिइन् । उनका अनुसार होमस्टेमा अर्गानिक खानाको मात्रै प्रयोग गरिनेछ भने वास बस्ने पर्यटकले ६५० शुल्क तिर्नुपर्छ ।

त्यसमा बेलुकाको खाजा, खाना, बिहानको नास्ता समावेश छ । घरबासमा बस्ने पर्यटकलाई परिवारको जस्तै व्यवहार गरिने भएकाले उनीहरु खुशी भएर फर्कने गरेको अध्यक्ष थापाले बताए ।

“होटलमा बस्दा स्वागत र आत्मीयता हुँदैन” उनले भने, “तर घरबासमा बस्ने पर्यटकलाई परिवारजस्तो व्यवहार गर्छौं ।” घरबासमा बस्ने पर्यटकलाई व्यवसायीले लाखे, लोकदोहोरी, चुड्कालगायतका सांस्कृतिक कार्यक्रमसमेत देखाउने गरेका छन् ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार ००:००