सन्तोष गौतम
भदौ २६, म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो ।
बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीका बासिन्दा त्रासमा परेको नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाका सभापति दशरथकुमार कर्माचार्यले बताए । “बस्तीमाथिको पाखोबाट आउने बाढी र कालीगण्डकीको कटानका कारण जोखिम बढेको हो” कर्माचार्यले भने, “बाढी र कटानको जोखिमका कारण बर्खायाममा राम्रोसँग निदाउनसमेत पाउँदैनौँ ।”
गत वैशाख ३० गते बस्तीमाथिको खोल्साबाट आएको बाढी पस्दा चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब एक करोडको क्षति पु¥याएको थियो । कालीगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको छ ।
भदौ १ गते राति कालीगण्डकीमा आएको बाढीले खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योग पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । कालीगण्डकीले धार परिवर्तन गरेर प्राकृतिक तातोपानीको मुहानतर्फ सोझिएकाले कटानको जोखिममा परेको छ ।
भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकी क्षेत्रको कार्यालय वरपरका बासिन्दा रातको समयमा अन्यत्र गएर सुत्ने गरेका छन् । वैशाखको बाढीलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिशमा जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले ७५ थान तारजाली उपलब्ध गराएको थियो ।
गाउँपालिकाको पाँच लाख र प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाको पहलमा जलउत्पन्नले उपलब्ध गराएको थप पाँच लाखबाट ७५ थान जाली भरेर खोल्सामा छेक बाँध र ग्याबियन पर्खाल लगाएको छ ।
थप ग्याबियन पर्खाल लगाउन जाली, बजेट र योजनाको अभाव भएको कर्माचार्यले बताए । उनका अनुसार थप १०० थान तारजाली आवश्यक देखिएको छ । नदी कटान र बाढी नियन्त्रणका लागि गाउँपालिकामार्फत् प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।
झोलङ्गे पुल बगायो
म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा सोमबार राति आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । मराङको बेँसी देखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको हो । बाढीले बेँसीमा सयौ रोपनी खेतीयोग्य जमीन कटान गरेको र बस्तीसमेत जोखिममा परेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
पुल बगाएपछि खोला वारपार बन्द भएको छ । मराङस्थित जनविकास माविमा आरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । एक सय घरधुरीभन्दा बढी प्रभावित भएका छन् ।
ठूलोखोलाको कटानले सिँचाइको पाइप र विभिन्न ठाउँमा पैदलमार्गसमेत बगाएको छ । बेँसीस्थित ठूलो र सानो खोलाको दोभानमा रहेको हरिहर मन्दिर जोखिममा परेको छ । सानो खोलामा रहेको अस्थायी काठे पुलसमेत बाढीले बगाएको छ । बाढी र पहिरोले पु¥याएको क्षति विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
रासस
प्रतिक्रिया