२९ आश्विन २०८१, मंगलबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट–जुम्ला सडकको छेडा–थलह खण्डमा पुल निर्माण अलपत्र



 

भदौ २५, जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र छ । ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको हो ।

१८ महिनामा बन्नुपर्ने पुल नबनेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने सम्बन्धमा सर्वोच्च अदालतको फैसला ढिलाइले पुल निर्माण अलपत्र परेको छ । पुल नबनेपछि वर्षामा पश्चिम जाजरकोटको यातायात ठप्प हुने गरेको छ । स्थानीयले पुल बनाउन धेरै पटक जिल्ला तहदेखि सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइसकेका छन् । कसैको यसतर्फ ध्यान नदिएको शिवालय–१ का पूर्णबहादुर महताराले बताए ।

पुल निर्माणमा बेवास्ता गर्ने सर्वउद्धार÷फ्रेन्डस् जेभी निर्माण सेवा काठमाडौंलाई जिल्ला समन्वय समितिको सिफारिशमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गत वर्ष नै कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । फर्म कालोसूचीमा राखिएपछि निर्माण कम्पनीका प्रोप्राइटर हरिबहादुर लामा र पुष्पराज बजगाईंले कालोसूचीबाट हटाई पाऊँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले गत वर्ष असोज २७ गते विपक्षका नाममा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । वर्ष दिन बित्न लाग्दा पनि अन्तिम फैसला भने हुन सकेको छैन ।

पुलको विषय अदालतमा विचाराधीन रहेकाले ठेक्का तोडी नयाँ खोल्न नमिल्ने जिल्ला समन्वय अधिकारी कमलराज भण्डारीको भनाइ छ । पुल निर्माण रोकिएपछि गत आवको ७० लाख बजेट फिर्ता गएको छ । सो मोर्क खोला पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट जुम्ला सडकमा पर्ने १२ वटा पुल निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको जिल्ला समन्वय अधिकारी भण्डारीको भनाइ छ ।

जाजरकोटको शिवालय गाउँपालिका–१ को मोर्कखोला जोडिने २५ मिटर लम्बाइ तथा चार मिटर चौडाइको मोर्क पुल स्थानीय सडक पुल आयोजना अन्तर्गत निर्माण हुन लागेको हो । पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले विसं ०६९ मा सर्वउद्धार÷फ्रेन्ड्स जेभी निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । एक करोड ९६ लाख लागतमध्ये घटाघटमा एक करोड ४४ लाखमा सम्झौता गरेको थियो ।

ठेकेदारले पुल निर्माण गर्न ९१ लाख ८४ भुक्तानी लिइसकेका छन् । तर पुलको ‘सब स्टक्चर’ को कार्य बाहेक अन्य काम हुन सकेको छैन । पुलको ‘सुपरस्टक्चर’ पहुँचमार्ग, नदी नियन्त्रण लगायत कार्य अलपत्र छ । विसं ०७३ मा तेस्रो पटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता देखाएन ।

मोर्क बजारदेखि थलहबजार सम्मको २५ किमी सडकमा यातायात सहज बन्न नसकेको स्थानीयको गुनासो छ । सडक बने पनि यातायातको सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ ।

वर्षेनी वर्षासँगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्छ । पुल नहँुदा स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भएको शिवालय गाउँपालिका–१ स्यापीका हरिबहादुर पुनले बताए । स्थानीय तहले २६ लाख खर्चेर बनाएको कजवेलेसमेत काम नगरेको उनी बताउछन् ।

पुल नबन्दा खोलाले बगाएर स्थानीयको ज्यानसमेत जाने गरेको छ । छिटोछरितो पुल निर्माण गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ ।
रासस

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ००:००