२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट नगरपालिकामा ‘क्यानोनिङ’ खेलकाे व्यावसायिक शुरुवात गरिने



 

भदौ २१, बागलुङ । गलकोट नगरपालिका ३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ ।

गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यही वर्षभित्रमा ‘क्यानोनिङ’ व्यावसायिक रुपमा शुरु हुने वडा नं ३ का अध्यक्ष वीरजञ्ग भण्डारीले बताए । “विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ” उनले भने, “पूर्वाधार निर्माण र प्राविधिक तयारीमा लागेका छौँ ।”

पूर्वाधारतर्फ झरनासम्म पुग्ने पदमार्ग, पोखरी, विश्राम कक्ष, रेष्टुराँ लगायतका संरचना निर्माण हुनेछन् । त्यस्तै ‘क्यानोनिङ’मा चाहिने हेल्मेट, ज्याकेट, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइनेछ । पूर्वाधार निर्माणका लागि वडाले चालू आवमा पाँच लाख छुट्टाएको छ ।

यतिमात्र बजेट अपुग हुने भएपछि अन्य क्षेत्रबाट पनि स्रोत जुटाइने भएको छ । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको हो । वडाले खेल पर्यटन प्रवर्द्धनका लागि ‘क्यानोनिङ’ शुरुवात गर्न लागेको हो ।

सम्भाव्यता अध्ययनका लागि पोखरादेखि आएका ‘क्यानोनिङ’ का विज्ञ रामबहादुर गुरुङसहितको टोलीले शुरुमा ‘क्यानोनिङ’को परीक्षण अभ्यास गरेका थियो । विज्ञ टोलीले सह्रसधारा झरनालाई ‘क्यानोनिङ’को लागि प्राविधिक र सबै हिसाबले उचित ठहर गरेको थियो । झण्डै ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्न वडाध्यक्ष भण्डारीले पहल गरेका हुन् ।

साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने ठानिएको छ । पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना नगरपालिकाको छ । ‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी छ ।

‘क्यानोनिङ’मा दक्ष युवा तयार गरेर विस्तारै सबैका लागि खुला गर्ने योजना छ । यसै वर्षमा ‘क्यानोनिङ’ प्रतियोगिता सञ्चालन गर्ने योजना छ । नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले गलकोट क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने बताए । “पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ” उनले भने, “यसले पर्यटक भित्र्याउन सघाउ पु¥याउने छ ।”

सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित सहस्रधारा झरनामा हटियादेखि ३० मिनेटको पैदलयात्रा गरी पुग्न सकिन्छ । सडकको सुविधासमेत पुगेको सहस्रधारा हुँदै कोत मैदान र त्यहाँबाट पूर्णकोटसम्म पदमार्ग बनाउने योजना छ ।

पूर्णकोटमा यसै वर्ष ‘पाराग्लाडिङ’को पनि सम्भाव्यता अध्ययन हुने भएको छ । ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ ।
रासस

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार ००:००