२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयबासीसँगको सहमतिपछि ओखरपौवामा फोहोर फाल्न शुरु



 

भदौ ११, नुवाकोट । काठमाडौंबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि आज दिनभरी रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ ।

बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नं को टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै दिनभरी सो गाडी स्थानीयवासीले रोकेका थिए । मृतकको परिवारले तीनपीप्ले–ओखरपौवा सडक ठप्प पारेका थिए ।

मृतकको परिवारलाई २० लाख क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलेको ककनी–१ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए । स्थानीय तह–कामपा–फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीका प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलपछि साँझ २० लाख क्षतिपूर्ति दिने सहमति भएको थियो ।

फोहर फाल्ने ठेक्का पाएको कम्पनीले १५ लाख र कामपाले पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ । पीडित पक्षले क्षतिपूर्तिस्वरुप ३० लाख र मृतकको परिवारका एक सदस्यलाई कामपामा रोजगारी दिनुपर्ने माग राखेर सडक बन्द गराएको थियो । छलफलपछि क्षतिपूर्तिस्वरुप २० लाख र परिवारको एक सदस्यलाई महानगरले कर्मचारी आवश्यकताको विज्ञापन गरेका बेलामा उच्च प्राथमिकता दिने सहमति भएको वडाध्यक्ष बलामीले बताए ।

कामपाले पीडित परिवारलाई आज नै ५० हजार दिएको छ । मंगलबार एक लाख र बाँकी रकम ३५ दिनभित्र दिने सहमति भएको छ । यस्तै चालकको चरम लापर्वाहीको कारण बलामीको मृत्यु भएकाले उनलाई कानूनअनुसारको हदैसम्मको कारवाहीका लागि पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ००:००