भदौ ७, नुवाकोट । जिल्लाको लिखु गाउँपालिका १ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् ।
आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु १ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नगरपालिका १२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंं पठाइएको छ ।
गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताए । सुरक्षित स्थानमा पोल नगाडिएको कारण यो दुर्घटना भएको उनको भनाइ थियो ।
रासस
प्रतिक्रिया