कृष्णराज गौतम
भदौ ५, काठमाडौं ।
लिच्छिवीकालदेखि नै काठमाडौं उपत्यकाभित्र छिर्ने महत्वपूर्ण नाकाका रुपमा रहेको घ्याम्पेडोलदेखि वाणभञ्ज्याङ सम्मको सडकखण्ड स्तरोन्नतिका लागि तीन तहकै प्रतिनिधिका साथै स्थानीयवासी पनि अग्रसर भएका छन् ।
काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र चन्द्रागिरि नगरपालिका क्षेत्रमा पर्ने खड्कागाउँ (भलु भैरव टोल) स्थित घ्याम्पेडोलमा सानो पुल (कल्भर्ट) शिलान्यासका क्रममा जनप्रतिनिधिले करीब सात किलोमिटरको उक्त सडकखण्ड अहिले ओझेलमा परेकामा चिन्ता पनि व्यक्त गरे ।
कलङ्कीदेखि थानकोटसम्मको राजमार्ग निर्माण भएपछि यो सडकखण्डको महत्व कम हुँदै गएको थियो । तात्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणका क्रममा सोही मार्ग भई काठमाडौं उपत्यकामा गोर्खाली सेनालाई भित्र्याएको इतिहास छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा पर्ने उक्त पुल शिलान्यासपछि प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले प्राचीन समयदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर आवतजावत गर्न प्रयोग गरिएको यो सडकको ऐतिहासिक महत्व रहेकाले जतिसक्दो चाँडो पुल निर्माण गरेर बाटो सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “भाषणभन्दा पनि अब स्थानीय विकास निर्माणका काम काम गरेर देखाउनुपर्छ । कलङ्कीदेखि नागढुङ्गासम्मको राजमार्ग स्तरोन्नतिमा भइरहेको ढिलाइले देशको अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश प्रबाह भइरहेको छ ।”
करीब ४५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पुल दशैँअगावै सम्पन्न गर्ने लक्ष छ । विसं १९८३ मा भीमशम्शेरले यो मार्ग स्तरोन्नतिका लागि सहयोग गरेको अभिलेख हालै उत्खननका क्रममा पाइएको छ ।
कुनै समय वाणभञ्ज्याङबाट पश्चिमतर्फ बलम्बु, चेकपोष्ट, चितलाङ हुँदै हेटौँडा पुगेर तथा घ्याम्पेडोल देखि पूर्वमा मकालुचोक, बाफल, ताहाचल, भीमसेनस्थान हुँदै हनुमानढोका आएर व्यापार गर्ने गरिन्थ्यो ।
प्रदेशसभा सदस्य केशव पोखरेलले करीब १३ वर्ष अगाडि उक्त मार्गलाई फराकिलो र स्तरीकरण गर्न बोलपत्र भइसकेकामा राजनीतिक अस्थिरताका कारण काम सम्पन्न गर्न नसकिएको जानकारी दिए ।
कामपा–१४ खड्कागाउँ, नागार्जुन–१० वडामा घ्याम्पेडोल, चन्द्रागिरि–१३ मा पुरानो नैकाप, सोही नगरपालिकाको १४ वडामा नयाँ नैकाप, नगरपालिकाकै १२ वडामा बलम्बु चोक र १ वडामा दहचोकमा पुराना सम्पदास्थल पाइन्छ । मानिस हिँडडुल गर्दा बासस्थानका लागि थकाइ मार्नका लागि विश्रामस्थल तथा पाटीका केही भग्नावशेष यस मार्गमा पाइन्छ ।
कामपा–१४ वडाध्यक्ष शोभा सापकोटाले स्थानीय तहदेखि पूर्वाधार विकास तथा निर्माणका कार्य भए मुलुकको समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महानगरको दोस्रो सभाले करको दायरा बढाए पनि कर घटाएको र जन्म तथा मृत्युसम्बन्धी दर्ताका कार्य ३५ दिनभित्र गरिए निःशुल्क हुने व्यवस्था भएको बताइन् ।
राणाकालमा चारघोडे बग्गी सञ्चालन हुने सो सडकखण्डमा २६ फिटको मापदण्डलाई आधार बनाएर उक्त सडक तथा आसपास क्षेत्रको स्तरोन्नतिका लागि प्रयत्न भइरहेको छ ।
उक्त क्षेत्रमा अधिकांश स्थानीयवासीको साविकको लगत कट्टा हुन नसकेका कारण सडकखण्डमा जग्गा परेका व्यक्तिले अहिलेसम्म पनि भूमि कर तिर्दा सडकको करसमेत तिर्दै आएको स्थानीयवासी श्रीहरि खड्काले गुनासो गरे । कालु पाँडेको समाधिस्थलमा यो मार्ग पनि भएर जान सकिन्छ ।
पुल निर्माणका लागि यही भदौ १ गतेदेखि त्यस क्षेत्रमा सवारी साधनको आवागमनमा प्रतिबन्ध गरिएको छ । यहाँको ऐतिहासिक महत्वको सम्पदा संरक्षणका लागि स्थानीयवासी क्रियाशील छन् ।
रासस
प्रतिक्रिया