साउन २९, टोकियो । जापानको टोकियोमा यही अगष्ट ११ तारिखमा नेपाल जापान डाईलग सिरिज नामक बृहद अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यता सञ्चालित उक्त कार्यक्रममा नेपालबाट जापानमा गई अध्ययन, अध्यापन, अनुसन्धान,तथा बिभिन्न बिषयमा बिज्ञता हाँसिल गरि जापानलाई कर्मथलो बनाएका करिव ७० जना नेपालीहरु बुद्धिजीविहरु सहभागि थिए ।
दुईवटा सत्रमा बिभाजन गरिएको उक्त कार्यक्रमको पहिलो सेसनमा जापानको ईहिमे बिश्वबिधालयका सहप्राध्यापक डा. नेत्रप्रकाश भण्डारीले नेपालको बर्तमान बिकासको मोडलबारे चर्चा गरेका थिए । साथै। भण्डारीले नेपालको विकासको मोडलमा रहेको कमजोरी र चुनौतीहरूलाई तथ्यांङ्कसहित बिश्लेषण गरेका थिए ।
दोस्रो सत्रमा सिटीनेटका निर्देशक केन्द्र बरुवाले नेपालमा रहेका नीतिगत तथा कार्यान्वयन पद्दतिमा रहेका कमजोरीहरूलाई औल्याएका थिए । यसै गरि विज्ञ वक्ताको रुपमा स्वीडेनको रोयल ईन्ष्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक डा. दिलिप खतिवडाले कृषिको आधुनिकीकरणका लागि कृषकलाई कसरी उत्प्रेसरित गराउने भन्ने सम्बन्धमा लाभांस बितरणको ब्राजिलियन मोडेल प्रस्तुत गरेका थिए ।
यसैगरि टोकियो सिटी यूनिर्भसिटीका प्राध्यापक डा. होम रिजालले शहरी दिगो बातावरणीय सुधारको बिषयमा प्रस्तुतीकरण दिएका थिए ।
बिज्ञ बक्ताकै रुपमा नेपाल सरकारका सहसचिव,हाल जापानको मेइजी यूनिर्भसिटीमा अध्ययनरत गोकर्णमणी दुवाडी, चुकुवा बिश्वबिधालयका सहायक प्राध्यापक डा. जीत सापकोटा, कमनवेल्थ ईन्जिनियरीङ्ग कम्पनीका चिफ ईन्जिनियर डा. झविन्द्र घिमिरे, टोकियो बिश्वबिधालयका सहप्राध्यापक डा. भूवनेश्वर साह, सूचना प्रबिधि बिज्ञ चण्डी सुवेदी, नेपालसरकारका उपसचिव लक्ष्मी घिमिरे, भूकम्प प्रबिधि राष्ट्रिय समाजका निर्देशक गणेश जिमी लगायतले अ–आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिभा राणाले जापानमा रहेका बिज्ञ नेपाली समुदायको उपस्थितीले खुसी भएको र नेपाली दुतावास सधै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने बताईन् ।
बिशेष अतिथिको रुपमा गैर आवासिय नेपालीसंघका अध्यक्ष भवन भट्टले संसारकै उत्कुष्ट प्रबिधि भएको देश जापानबाट नेपालीले धेैरै कुरा सिक्ने र अवलम्बन गर्ने अवशरको रुपमा लिनु पर्ने बताए ।
त्यस्तै नियोग उपप्रमुख कृष्ण चन्द्र अर्यालले अरु यस्तै प्रकारका थिमेटिक एरियामा छलफल हुनुपर्ने र यसलाई निरन्तरता होस् भन्ने शुभकामना दिए ।
टोकियोको ईचिगाया स्थित जाईका ग्लोवल सेन्टरको हलमा सम्पन्न उक्त कार्यक्रमलाई अर्थमन्त्रालयका उपसचिव, हाल टोकियो विश्वबिधालयमा अध्यनरत गगन बहादुर बि.के.ले सञ्चालन तथा सहजीकरण गरेका थिए । उक्त कार्यक्रमलाई क्योदाई रेमिटान्स जापानले सहयोग गरेको थियो ।
प्रतिक्रिया